एउटै कोठामा चार वटा कक्षा सञ्चालन

वीरगञ्ज – पर्सागढी नगरपालिका–५ हर्दिया टोलमा रहेको कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा दुई वटा कोठा मात्रै हुँदा पठनपाठनमा समस्या हुँदै आएको छ। ०६५ सालमा स्थापना भएको उक्त विद्यालयमा जम्मा दुई वटा मात्र कक्षाकोठा हुँदा विद्यार्थीलाई समस्या हुने गरेको हो।

कक्षा कोठा निर्माण गरिदिन बारम्बार नगरपालिकादेखि वडामा हारगुहार गर्दासमेत कुनै पहल नगरिएको स्थानीय अभिभावक हरकित यादवले बताए।

उनले विद्यालयमा टोलका बच्चालाई पढाइमा समस्या हुँदै आएको बारे वडाध्यक्षदेखि नगरपालिकासम्म धाउँदासमेत कसैले पनि कोठा बनाइदिन पहल नगरेको बताए।

‘हामीले बारम्बार विद्यालयमा कोठा बनाइदिनुस् भन्दा पनि वडाध्यक्षदेखि नगरपालिकाका मेयरसम्मले सुनेन्,’ उनले भने, ‘धेरै दिन भयो कसैले कोठा बनाउँदैनन् खालि अनुगमन गर्छन् जान्छन्।’

टोलमा भएका सामान्य परिवारदेखि गरिब सबैका बच्चा विद्यालयमा पढ्न जाने भए पनि कोठाको समस्याले उनीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुदै आएको यादवको भनाइ छ।

फुसको दुई वटा कोठा बनाए पनि त्यो बाँस मात्रै ठड्याएर राखिएको तर त्यहाँ कर्कट खरसमेत नहालिएकाले उक्त कोठा पनि प्रयोग गर्न नसकिएको उनी बताउँछन्।

नगरपालिकाको विद्यालय भए पनि पाँच वटा कक्षा दुई वटा कोठामा पढाउँदा एउटै कोठामा चार वटा कक्षाका विद्यार्थी र बाँकी एउटामा दुई वटा कक्षाका विद्यार्थीलाई पढाउनुपर्ने अवस्था रहेको प्रधानाध्यापक रामबालक यादवले गुनासो गरे।

उनले कार्यालय र दिवा खाजा पनि कक्षा कोठामै बनाउनुपर्ने बाध्यता रहेको बताए।

‘दुई वटा कोठा छन्, त्यसमा एउटामा चारवटा कक्षा अर्कोमा दुईवटा कक्षाका विद्यार्थीलाई पढाउँछाँै,’ उनले भने, ‘अझ त्यसैमा कार्यालय र दिवा खाजा पनि बनाउनुपर्ने अवस्था छ, गाह्रो हुन्छ धेरै।’

कक्षा ५ सम्म पढाइ हुने हर्दियाको विद्यालयमा १२० जना विद्यार्थी अध्ययनरत छन्। तर, उनीहरूको अध्ययनका लागि पर्याप्त कक्षाकोठा नहुँदा समस्या भए पनि पालिकाले अनुगमन मात्रै गर्ने गरेको स्थानीय अभिभावक बताउँछन्। तर, वडा नम्बर ५ का अध्यक्षसमेत रहेका नगरपालिकाका शिक्षा शाखाका संयोजक नितेश मिश्राले भने आफूलाई समयमै कसैले पनि कक्षाकोठाको समस्याबारे जानकारी नगराउँदा यस वर्षको बजेटबाट कोठा निर्माणका लागि रकम छुट्याउन नसकेको बताए।

उनले आफूलाई विद्यालयको अवस्थाबारे थाहै नभएजस्तो गरी पन्छिन खोजे। ‘बजेट बनाउने बेलामै जानकारी दिनुपर् यो नि मलाई अभिभावकले त्यहीबेला बजेट हालिदिन्थेँ, अहिले त बजेट हाल्न पनि सकिँदैन,’ उनले भने, ‘अब अर्को वर्षको बजेटमा विद्यालयमा कोठा बनाउनको लागि बजेट हाल्छु।’
यता, नगरपालिकाका प्रमुख गोकर्ण पाठकले भने बिजोगै बिजोगमा नगरपालिका रहेको तथा हर्दियाको विद्यालयको अवस्थाबारे आफू जानकार भए पनि कक्षाकोठा निर्माणका लागि समय लाग्ने भन्दै पहल गरिरहेको आश्वासन दिए।

शिक्षक पनि एक जना मात्रै

विद्यालयमा कक्षाकोठाको त अभाव छँदै छ त्यसमाथि शिक्षकको समेत अभाव छ। बाल विकासदेखि कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा एक जना मात्रै स्थायी शिक्षक छन्।
उनीसँगै बाल विकासका एक जना शिक्षिका र वडा कार्यालयले पठाएको थप एक जना करारका शिक्षिका गरी विद्यालयमा जम्मा तीन जना मात्रै शिक्षक रहेको प्रधानाध्यापक रामबालक यादवले जानकारी दिए।

शिक्षकको कमी कक्षाकोठाको कमीसँगै भौतिक संरचना पनि जीर्ण भएको यादवको भनाइ छ। उनले विद्यालयको शौचालयको अवस्था खराब भएको तथा जीर्ण बन्दै गएको बताए। कक्षाकोठा पनि ०७२ सालमा आएको भूकम्पले चर्केको अवस्था रहेको बताए।

पुस १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्