लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन आज, यस्ताे छ कार्यसूची

दाङ- लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन साेमबार बस्दैछ। आज दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो।

सोमबार दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ।

पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनलले जानकारी दिए।

दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्ने छन्। यस्तै, दलको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको अधिवेसन आह्वान गर्नु भएको थियो।

यो अधिवेशनपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ। पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।

पुस १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्