धनुषामा घरायसी विवादमा हत्या, पक्राउ परेका छोरा र प्रहरी ज्वाइँसहित तीन जना सार्वजनिक

जनकपुरधाम – घरायसी विवादमा हत्या गरेको आरोपमा आफ्नै छोरा र ज्वाइँसहित तीन जना पक्राउ परेका छन्।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धनुखधारी दासको हत्या आरोपमा पक्राउ परेका मृतकका छोरा र ज्वाइँ तथा हत्या गरेका सुटरलाई प्रहरीले सार्वजनिक गरेको छ।

५० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।
पक्राउ पर्नेमा मृतकका छोरा मुखियापट्टी मुसहरनियाँ गाउँपालिका २ का २१ वर्षीय प्रदीप दास, मृतकका ज्वाईँ प्रहरी प्रधान कार्यालयमा दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत्त प्रहरी हवलदार महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराईन नगरपालिका २ जटहीका २१ वर्षीय रंजित कुमार यादव रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

दुई बिहे गरेका धनुखधारीका जेठी श्रीमतीका छोरा र ज्वाईँले घरायसी विवादमा ५ लाख रुपैयाँमा सुटर ल्याएर उनको हत्या गराएको प्रहरीबाट खुलेको हो।

हत्या वापत एडभान्सको रुपमा १ लाख र हत्यापश्चात पटक पटक गरी उनका ज्वाईँले २ लाख १० हजार सुटरलाई दिएका थिए भने बाँकी रकम डेढ महिनाभित्र दिने बताएका थिए।

प्रहरीले हत्या गर्न प्रयोग भएको कटुवा पेस्तोल नाल १, सो पेस्तोलमा लाग्ने खोको १ थान, अटोमेटिक पेस्तोलमा लाग्ने म्यागजिन १ थान तथा अटोमेटिक पेस्तोलको गोली राउण्ड १ बरामद गरेको छ।

पुस २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्