प्रचण्डलाई विश्वासको मत दिने अथवा नदिने निर्णय पुस २६ मा मात्र हुन्छ: राजेन्द्र पाण्डे

जनकपुरधाम-नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने अथवा नदिने विषयमा पुस २६ मा मात्र निर्णय गर्ने बताएका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले अहिलेसम्म प्रचण्डले व्यक्तिगत रूपमा विश्वासको मत मागे पनि पार्टीगत रूपमा नमागेकाले यस सम्बन्धमा निर्णय गर्न पुस २६ गते नै बैठक बसेर निर्णय गर्ने बताए।

शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीको मान्यता दिएर चिठ्ठी लेख्ने काम भएको छैन। प्रचण्डले व्यक्तिगत रूपमा मलाई सहयोग गर्नूपर्यो भन्नु भएको छ। व्यक्तिगत रूपमा मागेकै आधारमा हामीले विश्वासको मत दिन सहजजस्तो लाग्दैन।’

पाण्डेले प्रचण्डलाई विश्वासको मत दिने अथवा नदिनेबारे २६ पुसमा बिहान बैठक बसेर निर्णय गर्ने जानकारी दिए।

उपाध्यक्ष पाण्डेले प्रचण्डलाई विश्वासको मत दिएर बाहिर बस्न सक्ने समेत बताए।

यस्तै, उनले वर्तमान सरकार खिचडीकाे सरकार रहेको आरोपसमेत लगाए। उनले संघीयता रुचाउने, संघीयता नरुचाउने, राजा ल्याउने र राजा फ्याँक्ने विचारधाराका दलहरू एक साथ रहेकाले अहिलेको सरकार खिचडी सरकार रहेको बताएका हुन्।

पुस २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्