पानीको सट्टा स्पिरिट दिएपछि विद्यार्थीको मृत्युः सिरहा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम– शिक्षिकाको लापरबाहीले विद्यार्थीको मृत्यु भएपछि सिरहामा तनाव सिर्जना भएको छ। विद्यार्थीको मृत्युपछि विद्यार्थीहरुको आन्दोलन उग्र बन्दा प्रहरीले अश्रुग्यास तथा हवाई फायर गरेको छ।
प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर र करिब १० राउण्ड अश्रुग्यास प्रहार गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए।
मिर्चैया नगरपालिका ६ मा रहेको सगरमाथा स्कुलको कक्षा ८ मा अध्ययनरत छात्रा सिर्जना कुमारी महराको स्प्रिट सेवनबाट मृत्यु भएको हो। शुक्रबार औषधि खानका लागि उनले पानी मागेपछि शिक्षिक अम्बिका लम्सालले माउण्टेन ड्यूको बोतलमा रहेको स्पिरिट दिएकी थिइन्।
सिर्जनाले पानी ठानेरै स्पिरिट खाएपछि बेहोस् भएकी थिइन्। उपचारको लागि उनलाई कर्जन्हाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा लगेकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो।
घटनाको विरोधमा आइतबार विद्यार्थीहरु मिर्चैयामा राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्। विद्यार्थी र स्थानीयले ढुंगा मुढा गरेपछि प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेका प्रवक्ता बुढाथोकीले बताए।
यस प्रदर्शनमा प्रहरीतर्फ ८ जना घाइते भएको प्रवक्ता बुढाथोकीले बताए। प्रहरीले घटनाको अनुसन्धानका लागि शिक्षिकालाई नियन्त्रणमा लिएको छ।