एमालेसँग पनि पार्टी एकताका लागि छलफल गर्छौंः उपमहासचिव गिरिराजमणि पोखरेल

नेकपा (माओवादी केन्द्र) ले वाम एकताका लागि भन्दै एक कार्यदल गठन गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालयको बैठकले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदल सदस्यमा महासचिव देव गुरुङ र उपमहासचिवहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल छन्। माओवादी केन्द्रले चाहेको वाम एकता कस्तो हो ? किन आवश्यक छ ? कोकोसँग एकता हुन्छ र कहिलेसम्म एकता भइसक्छलगायत विषयमा कार्यदलका एक सदस्य गिरिराजमणि पोखरेलसँग न्युज एजेन्सीले गरेको कुराकानीको संपादित अंश –

 कोसँग वार्ता गरी एकता गर्नका लागि कार्यदल गठन भएको हो?

पहिलो कुरा हाम्रो पार्टी र विभिन्न वामपन्थी समूहको बीचमा पहिले पनि वार्ता टोली थियो। एकपटक देव गुरुङजीको नेतृत्वमा थियो। पछि फेरि महराजीको नेतृत्वमा थियो। चुनावअगाडि पनि थुप्रै समूहसँग वार्ता ग¥यौँ। अहिले पछिल्लो चुनावको परिणाम आइसकेपछि बदलिएको राजनीतिक परिस्थितिमा समाजवादलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने वामपन्थी पार्टीबीच एउटा नयाँ ढंगले जानुपर्छ भन्ने जनताको सन्देशलाई ध्यान दिएर एउटा अर्को टोली बनेको छ। हाम्रो टोलीको बैठक बसिसकेको छैन। पार्टीले त्यो जिम्मेवारी त दियो। पहिले हामी आफैँ एकचोटी बस्छौँ। कार्ययोजना बनाउँछौँ। त्यसो गर्दाचाहिँ कतिपय पार्टीसँग हाम्रो विगतदेखि नै छलफल चलिराखेको छ, उहाँहरूले पहिलो प्राथमिकता पाउनुहुन्छ। त्यसपछि क्रमशः संसदभित्र भएका, बाहिर रहेका समाजवादलाई केन्द्रबिन्दुमा राखेर जान चाहने शक्तिहरूसँग हामी छलफल गर्छौं।

 अहिले तुरुन्तका तुरुन्तै वाम पार्टीहरूको एकता गर्नुपर्ने आवश्यकता तपाईहरूलाई किन प¥यो ? विगतमा तपाईहरूले गरेको एकता (एमालेसँग) त असफल भएको थियो नि ?

असफल नभनौँ। एउटा अभ्यास गरिएको थियो। दृष्टिकोणगत कुरा पनि भए। विधिगत कुरा पनि भए। जनताले एकता गर भने। नेतृत्व त्यो ठाउँमा पुगेको रहेनछ। त्यसकारण त्यो अभ्यास विफल भएका छन्। तर फेरि नेपालको समकालीन राजनीतिको दृष्टिकोणले जति त्यसलाई अस्वीकार गरे पनि मिलेर जानुको अर्को विकल्प छैन। त्यसकारणले एकप्रकारले हामी जनताको अधिकारका लागि विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्दै पनि अगाडि बढेका छौँ। हामी जनयुद्ध र जनआन्दोलनलाई जोड्दै पनि अगाडि बढेका छौँ। मिल्नुपर्ने शक्तिसँग मिलिरहेका छौँ। एकातिर त्यो पक्षलाई बिर्सिनु हुँदैन। अर्कोतर्फ वामपन्थीहरूको बीचमा पनि सहकार्य, कार्यगत एकता, एकिकरणका थुप्रै श्रृङ्खलाहरू पनि चलेका छन्। पछिल्लो चुनावको परिणामपछि जुन ढंगको सन्देश हामीलाई प्राप्त भएको छ। त्यो सन्देशलाई दृष्टिगत गरेर यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढौँ भनेर सोचिएको हो।

पार्टी एकता गर्न नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) अथवा नेपाल समाजवादी पार्टी कोसँग चाहिँ तपाईहरूको पहिलो प्राथमिकता हो त ?

मोटो अर्थमा हामी सबै वामपन्थीसँग व्यवस्थित ढंगले भेटघाट गर्छौं। छलफल, संवाद गर्छौं। त्यो क्रममा डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको पार्टी त हामी मिलेरै चुनाव लडेका हौँ। अहिले एउटै संसदीय दल अन्तर्गत हामीले काम गर्नुपर्ने आवश्यकता छ। पछिल्लो बेला पनि डा. साबले भेटघाटहरू तिब्र ढंगले अगाडि बढाउनुभएको छ। हाम्रो यो शिर्ष नेताहरूको तहमा पनि छलफल भइसकेको विषयवस्तु हो। अर्को कुरा चुनाव अगाडि नै हामी एकीकृत समाजवादीसँग पार्टी एकता संयोजन समिति बनाउने भनेर छलफल चलेको थियो। उहाँहरूले पनि पार्टी एकता लगायतका विषयहरूमा छलफल गर्न भनेर हालसालै टोली बनाउनुभएको छ। स्वभाविक ढंगले प्राथमिकतामा उहाँहरू परिहाल्नुहुन्छ।

अनि एमाले ?
– अब हामीले छलफल गर्छौं। एमालेसँग पनि हामीले छलफल गर्नुपर्ने हुन्छ। उहाँहरूको प्राथमिकतामा पर्छ कि पर्दैन त्यो अर्को प्रश्न भयो। हामीले मात्रै प्राथमिकता दिएर आउने कुरा भएन। पहिले पनि नेकपा बनायौँ। अस्वभाविक ढंगले त्यो टुटेको थियो। संसदबाहिर भएका थुप्रै पार्टी छन्, व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूसँग पनि हामीले छलफल गर्नुपर्छ। त्यसकारणले हामीलाई हाम्रो कार्ययोजना बनाउनदिनुस् प्राथमिकता त्यसले निर्धारण गरिहाल्छ।

अब पार्टी बनाउँदा कम्युनिष्ट पार्टी भनेरै बनाउने हो कि बाहिर कहिलेकाहीँ चर्चा सुनिनेजस्तो समाजवादी केन्द्र भनेर बनाउने हो ?

वार्ता टोलीमा भएको कारणले अहिले मैले यो कुरा बोलिहाल्न मिल्दैन। किनभने हाम्रो पनि छलफल बाँकी छ। हामीले कम्युनिष्ट, वामपन्थी, देशभक्त, अहिले हाम्रो उपलब्धिहरूको रक्षा गर्ने, यो सबै कोणबाट हेर्नुपर्छ र एउटा कुरा त हाम्रो संविधानले नै समाजवादउन्मुख भनेको कोणबाट वैज्ञानिक समाजवादलाई केन्द्रबिन्दुमा राख्ने कुरालाई चाहिँ हामी प्राथमिकतामा राख्छौँ।

सरकारले पूर्णता पाइसकेको छैन, तपाईहरू वाम पार्टीबीच एकता गर्नुपर्छ भनेर लाग्नुभयो, संसदीय अंकगणितमा दुई, चार सिटको लोभमा, सरकारलाई स्थायित्व दिन सकिन्छ कि, प्रचण्डलाई प्रधानमन्त्री बनाइराख्न सकिन्छ कि भन्ने लोभले हतारो गर्नुभएको हो ?

यो शब्द उपयुक्त भएन। लोभ त भइहाल्छ नि अब हाम्रो पार्टीको अध्यक्षको नेतृत्वमा सरकार बनाएपछि त्यो सरकारलाई सफल बनाउनु, त्यसलाई पूर्ण अवधि अगाडि बढाउनु, जनताले कुनै एउटा पार्टीलाई बहुमत नदिएपछि मिलेर जानुपर्ने आवश्यकता हो। त्यसमाथि पनि कुनै न कुनै ढंगले अहिलेको अंकगणितीय हिसाबमा पनि हामी एउटा निर्णायक ठाउँमा छौँ भनेपछि हाम्रो हिजो मात्रै नेतृत्वसहित बसेको छलफलले अहिले हामीलाई १६९ त त्यसै पनि हस्ताक्षर गर्नु नै भएको छ। अरुलाई पनि आह्वान गर्ने, अपील गर्ने, मिलेर जान आह्वान गर्ने यो पक्ष छँदैछ। अर्को कुरा यो तात्कालिक मात्र कुरा होइन। चुनावको जनादेशलाई ठिक ढंगले मूल्यांकन गर्दै अहिले चलिरहेका राजनीतिक दलप्रति विकर्षण पनि पैदा छ। अरु शक्तिहरू पनि देखापरेका छन्। हामीले एउटा सही दिशामा समाजलाई अगाडि बढाउने हो भने हामीले वाम, लोकतान्त्रिक, देशभक्तहरूको धारलाई मजबुत बनाउनेगरी पनि त काम गर्नुपर्ने हुन्छ। त्यसकारणले अहिलेको संकटलाई पनि समाधान गर्ने हो। दीर्घकालीन ढंगले नेपाली समाजलाई एउटा सही दिशा दिने उद्देश्यद्वारा पनि यो उत्प्रेरित छ। र चुनाव अगाडि गरौँ भनेका कुरा चुनाव पछाडि स्वाभाविक ढंगले अब प्राथमिकतामा आइपर्‍यो।

तपाईहरू वामपन्थी पार्टीबीच एकता हुने भयो, प्रचण्डको नेतृत्वमा गर्नुहुन्छ अथवा अरु नै नेताको नेतृत्व स्विकार्नुहुन्छ ?

अहिले हाम्रो पर्याप्त छलफल भइसकेको छैन। समाजवादलाई केन्द्रबिन्दुमा राखौँ पहिलो कुरा। दोस्रो कुरा तत्कालीन राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि गरौँ। दीर्घकालीन ढंगले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने भएपछि कार्यक्रमिक ढंगले, कार्यदिशागत ढंगले छलफल पनि हुन्छ। नेतृत्वको कोणबाट पनि छलफल हुन्छ। अहिलेको आन्दोलनलाई अगाडि बढाउने एउटा मुख्य नेता भएका कारण नेतृत्वको ठिक ढंगको स्थापनाको प्रश्न हाम्रो अगाडि आइपुग्छ। हामीले एक ढंगले उपाय खोजि गर्‍यौँ विगतमा। दुईदुई वटा अध्यक्ष बनाएर एउटा प्रयो ग¥यौँ। अरु अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नभएका अभ्यासपनि गर्‍यौँ। हामी टुट्यौँ पनि अहिले फेरी परिस्थितिले हामीलाई एक ठाउँ लिएर आयो। हामीले अहिले यो शर्त मानेर मात्र एकता हुन्छ भनेर भन्दैनौँ। तर स्वाभाविक ढंगले सही कार्यदिशा निर्माण गर्ने, नेतृत्वको विन्यास गर्ने, संगठन प्रणालीलाई ठिक ढंगले लैजाने, अहिलेको बदलिएको विश्वपरिस्थितिलाई हेर्ने, विज्ञान, प्रविधिलाई आत्मसात् गर्ने, नयाँ युवापुस्तालाई विकास गर्ने जस्ता थुप्रै कार्यभार हाम्रो अगाडि छ। एउटा लिडरसिपको प्रश्न मात्र हाम्रो अगाडि छ भन्ने लाग्दैन।

अन्त्यमा, वर्तमान सत्तारुढ गठबन्धन कति लामो समय जान्छ ? सरकारको स्थायित्वको सम्बन्धमा मान्छेहरूले आशंका पनि गरिरहेका छन्, के भन्नुहुन्छ ?

पहिलो कुरा २६ गते विश्वासको मत लिने प्रक्रिया सफल हुन्छ। दोस्रो, अहिले जुन ढंगले छलफलहरू शुरु भएका छन् देशलाई स्थायित्व चाहिएको छ। विकास चाहिएको छ। जनअधिकारको रक्षाको कुरा छ। उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धि प्राप्तितिर जानुपर्ने छ। त्यसकारणले विश्वासको मतसँगै नयाँ छलफल पनि शुरु हुन्छ। संसद पनि कार्यकारी भएर जान्छ। मलाई के लाग्छ भने आजकै बिन्दुमा भएको ध्रुवीकरणमा नै नेपाली समाज बसिरहँदैन। स्वभाविक ढंगले सरकारको नेतृत्व गरेको पार्टी भएको कोणबाट जनयुद्ध, जनआन्दोलनहरूलाई नेतृत्व गरेको पार्टी भएको कोणबाट, संविधान निर्माण गरेको पार्टीको कोणबाट जनताको आवश्यकता र राष्ट्रको आवश्यकतालाई ध्यान दिएर परिस्थितिले माग गरे अनुरुपको भुमिका खेल्न हाम्रो पार्टी लागि पर्छ।

पुस २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्