केराखेतीदेखि 'बनाना रेष्टुरेण्ट'सम्मकाे कथा

‘बनाना किङ’काे केराखेतीदेखि ‘बनाना रेस्टुरेन्ट’ सम्मकाे यात्रा (भिडियो)

टिकापुर, कैलाली- कर्णालीको किनारमा रहेको दौलतपुर घाटमा रहेको उनको नयाँ केराखेती तथा एग्रो टुरिजम स्थानमा पुग्दा उनी केराघारीतिर नै व्यस्त थिए। उनले केराका बोटका पातहरूलाई सुमसुम्याउँदै थिए। याे दृश्य हेर्दा उनी र ती केराको बोटसँगकाे प्रेम लामो समयदेखिनै छ भन्ने अनुमान लगाउन सकिन्थ्यो। त्यहाँ उनी सामान्य किसानजस्ता देखिएका थिए। केराका ती बोटहरूलाई सुम्सुम्याउँदै गरेका ती हुन्-  ‘बनाना किङ’ अर्थात् कालु हमाल।

कालु हमाल भन्दा उनलाई खासै धेरैले नचिन्‍न पनि सक्छन् तर ‘बनाना किङ’का रूपमा कैलाली टीकापुरमा मात्र नभएर छिमेकी जिल्ला तथा देशकाे अन्य ठाउँका मानिसले पनि सहजै चिन्छन्। ६३ वर्षीय ‘बनाना किङ’ अर्थात् हमाल अहिले पनि कृषिमा उत्तिकै सक्रिय देखिन्छन्।

चितवनको रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएससी गरेका हमालले विगत १८ वर्षदेखि ‘बनाना रेष्टुरेन्ट’ चलाइरहेका छन्।

केराखेतीबाट दाम र नाम कमाएका उनी ती केराका बोट आफ्नो सन्तानभन्दा कम नरहेकाे बताउँछन्। अन्य किसानजस्तै उनले पनि प्रकृति र त्यसका उपजलाई आफ्नाे परिवार र सन्तान नै मानेर हेरचाह गरेकाे देख्न सकिन्छ।

हुन त हरेक कामकाे सुरुवात सहज हुँदैन। व्यवसायिक क्षेत्रमा त याे झनै लागू हुन्छ। कुनै पनि ठाउँमा नयाँ सुरुवात गर्दा त्यहाँकाे हावापानी, समाज, चालचलनलगायतका विविध कुराकाे बारेमा जान्नु निकै आवश्यक हुन्छ। व्यवसायिक वातावरण नबुझी गरेका व्यवसायहरू फलदायक र दीर्घकालीन पनि हुँदैनन् प्राय:।

अरूकाे जस्तै हमालकाे पनि सुरुवाती अवस्था खासै सहज थिएन। ठूलाे सपना  लिएर व्यवसायमा लागेका उनले त्यतिबेला आफ्ना नजिकका मानिसलाई भिजन सुनाउँदा सबैले ‘के हो? पागल भइस् कि क्या हाे?’ भनेको सम्झन्छन्। त्यतिबेला उनीसँग ‍सपना र जग्गा बाहेक केही पनि थिएन।  भएकाे आफ्नाे जग्गालाई नै उपयोग गर्ने र नेपालमै राेजगारीकाे सिर्जना गर्ने इच्छा राखेका उनले आफूले यसकारण नै कृषि पढेको बताउँछन्।

‘अध्ययनका क्रममा सिकेका कुरालाई व्यवहारमा ल्याउँदै ‘एग्रो टुरिजम्’ अर्थात् कृषि पर्यटनकाे सुरुवात गरेको हुँ। तर सुरुवात गर्दा त नेपालका विभिन्न ठाउँमा केरा पुर्‍याउने, भारतबाट निर्यात हुने केरालाई घटाउने र तिब्बत क्षेत्रमा केरा नपाइने हुँदा त्यहाँसम्म पुर्‍याउने लक्ष्य राखेकाे हुँ’, हमालले देश सञ्चारसँग भने।

एक कठ्ठा जग्गाबाट खेती सुरु गरेका हमाल अहिले ‘बनाना किङका’ रूपमा परिचित हुन पाउँदा आफ्नाे मेहनतले सार्थकता पाएकाे बताउँछन्। बनाना रेस्टुरेन्टमा अहिले केराको नमकिन, चुकाउनी, अचार, तरकारी, फिंगर चिप्स, पकौडा, मःम, खीर, परौठा, रोटी, स्वीट बल, चिप्स, ब्रान्डीदेखि वाइनलगायत गरेर ४० भन्दा बढी परिकारहरू बन्ने गर्छन्। यतिधेरै उत्पादनकाे लागि उनले धेरैलाई राेजगारी पनि दिएका छन्।

‘रेष्टुरेण्ट शब्द रेष्ट र रेण्ट जोडिएर बनेको छ। जसको अर्थ आराम गरेवापत् शुल्क तिर्ने ठाउँ हो- रेष्टुरेण्ट।’ यही शब्दअनुसार उनी भन्छन्, ‘नेपाललाई पनि रेष्ट गर्ने ठाउँ बनाउनु पर्छ। चीन र भारतमा जनसंख्या र प्रदूषण बढ्दो छ। साथै नेपालीहरू फ्री कामपछि कतै प्रकृतिसँग रमाउँदै रेष्ट गर्न चाहन्छन्। त्यसकारण चीन र भारतबाट एक प्रतिशत जनसंख्या भए पनि यहाँ आराम गर्न ल्याउन सक्नुपर्छ।’

नेपालीहरूले काम, आराम र खानपिनकाे कुरामा खासै तारतम्य मिलाउन नसकेकाे उनकाे भनाइ छ। यसकाे लागि पनि नेपालमा रेष्टुरेण्ट आवश्यक छन्। जसले हाम्राे स्वास्थ्य र खानपान सबै राम्राे रहन सकाेस्। ‘ नेपालीका लागि पनि रेष्ट गर्ने वातावरण बनाउन पर्छ। अब त्यो कसरी गर्नेभन्दा अब बुझ्नु पर्ने कुरा के भने यहाँ शरीरलाई रेष्ट दिने ठाउँ भनेकै किसानको बारी हो’ ,  उनी भन्छन्, ‘हामीले पछिलो समय रेष्टुरेण्टको अर्थलाई गलत व्याखा गर्दैछौँ। यहाँ खाने ठाउँ त जति पनि पाइन्छ। तर थाकेको शरीर र दिमागलाई रेष्ट गर्न मिल्ने ठाउँ बनाउन पर्‍याे। त्यो ठाउँ भनेको अब किसानको बारी अझ भन्ने हो भने एग्रो टुरिजम अर्थात् कृषि पर्यटनमा छ।’

सुरुवाती दिनमा उनलाई केराका परिकार स्थापित गर्न समय नलागेको भने होइन। ‘सुरुसुरुमा त नयाँ कुरालाई स्थापित गर्न केही समय अनि मेहनत त लागि हाल्छ नि! जुन मलाई पनि लागेको थियो’,  उनी सम्झन्छन्। धेरै मेहनतपछि उनले केराका परिकारलाई एउटा ब्राण्ड बनाएर स्थापित गरे जुन अहिले पनि चलिरहेको छ।

हमालले व्यवसायलाई एउटा ब्रान्डकाे रूपमा स्थापित गरेपछि त्यसलाई फ्रेन्चाइज गर्नकाे लागि अफर आएकाे पनि सुनाउँछन्। ‘फ्रेन्चाइज दिनु भनेर धेरै आएका थिए। तर त्यो बेला के होला कस्तो होला भन्ने लाग्यो। परिकारको क्वालिटीदेखि धेरै कुरालाई सोचेँ। हाम्रो परिवारले पनि चलाइरहेका थियौँ। त्यसैले त्यसमा खासै ध्यान दिएनाैँ। तर कोभिडपछि त गाह्रो छ चारवटामध्ये दुईवटा मात्र सञ्चालनमा छन्। मैले पनि राम्रो लगानी खोजिरहेकाे छु’,  उनी सुनाउँछन्,  ‘अब अन्य देशले कृषिलाई नै आधुनिक तरिकाले प्रयोग गरेर कमाइ गरिरहेका छन्। तर हाम्रो यहाँ त भएको जमिन पनि मासिरहेका छौँ। कृषि उत्पादन हुने जमिनमा पनि प्लटिङ गरिरहेका छौँ।’

भिन्न कृषिसँग सम्बन्धित कुरालाई नयाँ तरिकाले प्रयोगमा ल्याएर गर्ने र मेहनत गर्ने हो भने एक दिन सफल हुने हमालकाे भनाइ छ। सबैले गरिरहेको भन्दा केही फरक गर्दा नयाँ कुरा आउने उनी बताउँछन्।

कृषि क्षेत्रमा उनले गरेको नयाँ कामलाई सम्मान गर्दै राज्यले  २०७२ सालमा दुई लाख रूपैयाँको ‘राष्ट्रपति सर्वाेत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको थियो। यस्तै, क्षेत्रीय र जिल्लामा पनि उनी उत्कृष्ट कृषक पुरस्कारले हमाल सम्मानित भइसकेका छन्। जेसिजको राष्ट्रिय युवा पुरस्कार र राष्ट्रिय कृषि अनुसन्धानबाट पनि उत्कृष्ट कृषक पुरस्कार उनले पाइसकेका छन्।

उनी व्यावसायिक केराखेतीका अभियन्ता पनि हुन्। दश विघा आफ्नै र भाडामा लिइएको छ गरी १६ विघामा केराखेती गर्दै आएका छन्। केराबारी भित्रै उनले रेष्टुरेण्ट सञ्चालन गरेका छन्। यसरी एग्रो टुरिजम गर्नेहरूलाई ध्यानमा राखेर राज्यले पनि सोच्नुपर्ने उनी बताउँछन्।

उनका अनुसार अहिले कृषिमा आधुनिक कुराहरू आइरहेका छन्,  त्यसलाई हामीले कसरी प्रयोग गर्ने सकिन्छ भन्नेदेखि नीति नियम पनि सरकारले राम्रोसँग बनाउनुपर्छ।

उनीसँग सिक्न नयाँ पिँढीका युवाहरू पनि आउने गरेको उनले सुनाए।  ‘युवापुस्तामा पछिलो समय एग्रो टुरिजममा रुचि देखिएको छ। म हुँदा पनि धेरै आउनुहुन्छ। मेरो अनुभव सुन्न चाहनुहुन्छ। सिक्न खोज्नेलाई हामी सिकाउछौँ पनि,’ कर्णाली किनारको दौलतपुर घाटमा बस्दै उनले भने, ‘हेर्नुहोस्, हाम्रो कर्णाली कति सुन्दर छ। यो थाइल्याण्डभन्दा कम छ? यो त हाम्रो प्राकृतिक कुरा हो।’

पुस २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्