
जनकपुरधाम- स्रोत नखुलेको करिब ५३ लाख रुपैयाँसहित सप्तरीबाट दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ९ देउरी बस्ने ३२ वर्षीय रामबिलास साह तेली र वडा नं. ७ बस्ने ५० वर्षीय मायानन्द झा रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
आइतबार बिहान करिब साढे ११ बजेको समयमा बोदेबरसाईन ५ बर्साइन बजारस्थित कौशल किशोर यादवको घरमा कोठा भाडा लिइ बस्ने मानिसहरूले कोठामा नेपाली रुपैयाँको हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो काठमाडाैँ र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले अवैध रकमसहित दुबैजनालाई नियन्त्रणमा लिएको हाे।
प्रहरीको संयुक्त टोलीले उक्त घरको कोठामा खाटमाथि कपडाले छोपिराखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय र सोही कोठामा बसिरहेका साहले बोकेको कालो ब्यागबाट १५ लाख र झाले बोकेको झोलाबाट ९ लाख गरी ५२ लाख ८९ हजार ५ सय रुपैयाँ, मोबाइल २ सेट र हिसाब लेखिएको कापी ५ थान फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए।
बरामद गरिएको रकमसहित दुवैजनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।