मलका लागि भौतारिँदै किसान, कृषि कार्यालय भन्छ– एक हप्तामा उपलब्ध हुन्छ

वीरगञ्ज – एक महिनाअघि मलबिनै गहुँ खेती गरेका किसानले अहिले गहुँबालीमा छर्नका लागि पनि युरिया मल पाएका छैनन्। पर्साका किसानहरु अहिले हुर्कदै गरेको गहुँबालीको लागि युरिया मलको पर्खाइमा छन्।

सरकारले समयमै मल उपलब्ध गराउने आशामा बसेका किसान अहिले मल नपाउँदा गहुँ खेती बिग्रने चिन्तामा छन्। कृषि समाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्जसहित स्थानीय सहकारीहरुमा धाउँदासमेत उनीहरुले युरिया मल पाएका छैनन्।

किसानले युरिया नपाउँदा गहुँबाली पहेंलो हुन थालेको छ। कतिपय किसानले सीमावर्ती भारतबाट महँगो मूल्यमा युरिया ल्याउने प्रयास गरे पनि सीमामा प्रहरीले ल्याउन नदिएको किसानको गुनासो छ।

सहकारीदेखि वीरगञ्जको कृषि सामाग्री कम्पनीको कार्यालयमा जाँदासमेत युरिया मल नभएको जवाफ पाएको पर्साको जगनाथपुर गाउँपलिका–३ का किसान गुल्फान अन्सारीले बताए।

गहुँ छरेको २१ दिनपछि युरिया मल हाल्नुपर्ने हुन्छ। अहिले युरिया मल नहाले गहुँ खेती नसप्रिने किसानहरु बताउँछन्। अहिले मल नपाएर भौतारिनु परेको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले बताए। उनले देशका अन्नदाता किसानलाई तीनै तहका सरकारले सधैँ चाहिएको बेलामा मल उपल्बध गराउन नसकेको गुनासो गरे।

यता सरकारले भारतसँग जिटुजी प्रक्रियामार्फत खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल रक्सौलसम्म आइसकेको कृषि सामाग्री कम्पनी लिमिटेड वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए। उनले अब मल नेपाल ल्याउने प्रक्रिया अन्तिम चरणमा भएकोले एक हप्ताभित्रमा पर्साका किसानले मल पाउने आश्वासन दिए।

‘युरिया मल रक्सौलसम्म आइपुगेको छ। अब त्यहाँबाट वीरगञ्ज आउँछ। किसानहरुलाई वितरण गर्नको लागि अझै एक हप्तासम्मको समय लाग्न सक्छ,’ उनले भने।

रक्सौलबाट वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा मल आउने उनले बताए। वीरगञ्ज आएकोमध्ये ११ हजार ५ सय मेट्रिक टन मल वीरगञ्ज प्रादेशिक कार्यालयले पाउने उनले बताए।

पुस २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्