नेपाली राजनीतिको यथार्थ: बाम-काङ्ग, बाम-बाम सबै एकै ठाम

एक अर्काको राजनीतिक अस्तित्व समाप्त पार्न तल्लीन माओवादी नेता प्रचण्ड र एमाले नेता केपी शर्मा ओली प्रचण्डको घरको कौशीमा घाम ताप्दै सुन्तला खाएर राजनीतिक वार्ता गरेको घटना आकस्मिक देखिए पनि त्यो नेपाली राजनीतिको नियमित घटना थियो।
गत वर्ष ६० प्रतिनिधि सभामा स्थान भएको नेका नेता शेरबहादुर देउबा र प्रचण्डले ओलीलाई विस्थापन गर्न हात मात्र मिलाएनन्, अदालतको आदेशमा देउबालाई प्रधानमन्त्री बनाउन माधव नेपाललाई साथ लिएर काँध नै बोकेर बालुवाटारको कुर्सीमा बसाए। दुई तिहाइको ओली सरकार ढल्नु र अदालतको आदेश आफैँमा आकस्मिक देखिन्थ्यो त्यो बेला।
स्वतन्त्र पार्टीका प्रमुख सञ्चारकर्मी रवि लामिछाने ओलीको घरमा पुगेर उपप्रम र गृहमन्त्री बन्नु अनि राजावादी राप्रपाले गणतन्त्रवादी प्रचण्डलाई समर्थन दिनु अर्को आकस्मिक घटना थियो। लामिछानेलाई चितवन अदालतमा आफ्नै सहयोगीलाई आत्महत्या गर्न प्रेरित गरेको मुद्दामा पुर्पक्षमा राखी थुनेर मुद्दा चलाउँदा ओली प्रम थिए।
२०६२/०६३ आन्दोलनमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र माओवादी नेता प्रचण्ड एक भएर राजसंस्था र हिन्दु अधिराज्य फाल्नु अर्को आकस्मिक घटना थियो।
चिनियाँ नेता माओको जन्म जयन्तीको शुभकामना आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेर प्रमको सपथ लिन पुगेका प्रचण्डलाई बधाई दिने पहिलो व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थिए। धर्मविरोधी माओको अनुयायीलाई बधाई दिने पहिलो नेता हिन्दुवादी मोदी हुनु आकस्मिक देखिए पनि नियमित नै थियो। भारतले हिन्दुबादी नेपालको राजसंस्थालाई जहिले पनि साम्यवादी र गणतन्त्रवादी चीनको नजिक भएको देख्थ्यो।
स्वर्गीय बालकृष्ण समका अनगिन्ती कृतिहरुमध्ये ‘नियमित आकस्मिकता’ले नेपालको यी र यस्तै राजनीतिक घटनालाई परिभाषित गर्छ। राजतन्त्रदेखि प्रजातन्त्र अनि अहिलेको लोकतन्त्रसम्म आउँदा व्यवस्था, पात्र र प्रवृतिहरु परिवर्तन भए। तर, विभिन्न कालखण्डमा आकस्मिक र अप्रत्यासित लाग्ने घटनाहरु भने नियमित रुपमा घटिरहेका छन्। यी घटनाहरुले देशलाई निरन्तर अस्थिर बनाइरहेको छ। यो अस्थिरताले राजनीतिमा नयाँ पात्र, प्रवृति र चरित्रको उत्थान र पतन निरन्तर भइरहेको छ। जनसंख्या, भूगोल र आर्थिक रुपमा विश्व राजनीतिमा उदीयमान दुई विशाल राष्ट्रहरुको बीचमा अवस्थित नेपाल भूराजनीतिका चलखेलले ल्याउने यस्तै आकस्मिकजस्ता घटनाले निरन्तर अस्थीर छ।
बुद्धिजीबी, विश्लेषक र राजनीतिक खेलाडीहरु आश्चर्यचकित हुने यस्ता जटिल घटनाहरु सर्वसाधारणको बुझाइबाट टाढा हुनु अस्वभाविक पनि होइन। छिमेकीहरुका निर्णय, सन्देशले संकेत र छिमेकीका राजधानीहरुबाट प्राप्त हुने समाचारहरुले यिनको यथेष्ट भान दिन्छन्। यस्ता घटनामा हार र जित हासिल गर्ने राजनीतिका पात्रहरु सबै बुझ्छन् तर बाध्यताले नबुझेको नाटक गर्छन्। आक्कलझुक्कल यसो बोले पनि फेरि चुपचाप रहन बाध्य छन्।
नेपालको राजनीतिमा नियमित रुपमा आकस्मिक घटनाहरुले निर्णायकत्व पाउँदै आएको कुरा कुनै नौलो होइन । तर सामान्य मानिसहरु आकस्मिकता मात्र देख्छन्। नियमित रुपमा घटेको कुरा बिर्सन्छन्। नियमित रुपमा आउने आकस्मिक घटना नेपालको राजनीतिको चरित्र हो भने अस्थिरता नियति। यही परिप्रेक्ष्यमा हेर्दा भर्खरै नयाँ सरकार गठनमा देखिएको आकस्मिक घटना एउटा नियमित निरन्तरता मात्र हो।
अरु त अरु आफैँ आकस्मिक रुपमा उदाएका काठमान्डू महानगर पालिकाका मेयर बालेन शाह समेत चकित पर्नु अस्वाभाविक पनि होइन।
सामाजिक सञ्जालमा उनी लेख्छन्:
राजा फर्काउछु भन्ने,
राजा चाहिन्न भन्ने,
र,
राजा मार्छु भन्ने तीनटै सरकारमा।
हामी प्रजा सधैँ सास्तीमा।
नेपालको राजनीतिमा नियमित रुपमा आकस्मिक घटनाहरुले निर्णायकत्व पाउँदै आएको कुरा कुनै नौलो होइन । तर सामान्य मानिसहरु आकस्मिकता मात्र देख्छन्। नियमित रुपमा घटेको कुरा बिर्सन्छन्। नियमित रुपमा आउने आकस्मिक घटना नेपालको राजनीतिको चरित्र हो भने अस्थिरता नियति। यही परिप्रेक्ष्यमा हेर्दा भर्खरै नयाँ सरकार गठनमा देखिएको आकस्मिक घटना एउटा नियमित निरन्तरता मात्र हो।
बाम बाम एक ठाम
मेयर बालेनले देखेजस्तो राजनीतिका बाम, बाम, काङ्ग बाम र राजाबादी एकत्रित र छुट्टिएका घटना भने यो पहिलो थिएन र अन्तिम पनि होइन । नेपाली कांग्रेससँग मिलिजुली सरकार चलाइरहेको माओवादी केन्द्र र एमालेले रातको रात अदृश्य रुपमा बाममोर्चा बनाएर २०७३ सालको संघीय चुनाउ लड्ने घोषणा गरेर कांग्रेस लगायत सबैलाई आश्चर्यचकित तुल्याए। एकै वर्षमा माओवादी केन्द्र र एमाले एकीकृत भएको घटना अर्को आश्चर्यजनक थियो। तर संसदमा दुई तिहाइ मत बोकेको केपी ओली नेतृत्वको सरकार तासको घरजस्तो ढल्ला र नेका नेता शेरबहादुर देउवा अदालतको आदेशले घडी हेराएर प्रचण्ड र माधव नेपालले बोकेर सरकारमा पुर्याएउलान् भन्ने अनुमानबाहिरको कुरा थियो।
त्यसैगरी हालै सम्पन्न निर्वाचनमा सञ्चारकर्मी रवि लामिछानेको पार्टीले त्यत्रो सफलता पाउला र त्यही पार्टीका नेता लामिछाने गृह र उपप्रधानमन्त्री बन्छन् भन्ने कल्पना कसैले पनि गरेका थिएनन्। “#no not again#” (अब पुन नजिताऊ भन्दै) ओली, देउवा र प्रचण्डबिरुद्ध देशब्यापी नारा चलाएका लामिछानेको स्वतन्त्र दलले यति छिटै त्यही नेताको शरण स्वीकार गर्ला भन्ने कसैले सोचेको थिएन।
नेपालको राजनीतिक क्षितिजमा यस्तो आकस्मिक देखिने घटना नियमित रुपमा घट्दै आएको छ। जब २०४६।०४७ को पहिलो जनआन्दोलनको तयारी चल्दै थियो। साततिर फर्केका उग्र, मध्यम र संशोधनबादी कहलिएका कम्युनिष्ट सात बाम र आफूलाई उदार प्रजातान्त्रिक मान्ने नेपाली कांग्रेस दलले संयुक्त मोर्चा बनाएर पञ्चायत बिरोधी आन्दोलनमा एक हुन्छन् भन्ने कल्पनासम्म पनि कसैको थिएन। तर प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला त्यसबेलाका भर्खरका उरन्ठेउला मालेका नेता मदन भण्डारी, केपी शर्मा ओली, माधवकुमार नेपाल, सीपी मैनाली र राधाकृष्ण मैनालीसँग काँधमा काँध मिलाउन सहमत भए। यही मालेको अराजक र पपुलिष्ट जमातले आन्दोलन मात्र सफल पारेन, कांग्रेसका आदर्शवान नेता र तिनको हुर्मत कसरी लियो, त्यो विस्तृत रुपमा धेरैलाई थाहा छ।
प्रजातन्त्र पुनर्स्थापनापछिको दोस्रो आमनिर्वाचनमा मात्र २४ स्थान प्राप्त गरेको र नेपाली कांग्रेस र एमालेले प्रतिगामी ठहर गरी अछुत बनाएको पूर्व पंचहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई नेता स्वर्गीय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई नेपाली कांग्रेस र एमालेले पालैपालो प्रधानमन्त्री बनाएको घटना अझै मानसपटलमा ताजै हुनुपर्छ।
चितवनबाट फैलिएको हृतिक रोशनको एउटा काल्पनिक अफवाहले काठमाण्डूमा एउटा समुदायलाई तहसनहस पारेको घटना धेरैको सम्झनामा हुनुपर्छ। इराकमा १२ नेपालीको हत्याको अफवाह फैलाएर काठमान्डू उपत्यकामा भएको हिंसात्मक घटना धेरैले देखेकै हो।
आफ्नै हजारौं कार्यकर्ता मारिएको कुरा र आफैँले रगतले लेखेको भनेर दाबी गरेको संबिधान र पार्टीको दशकौँ पुरानो आदर्श त्यागेर हिंसामा संलग्न माओवादीसँग मिलेर राजतन्त्रबिरुद्ध आन्दोलन नेपाली कांग्रेसले गर्छ भन्ने कसैले पनि सोचेको थिएन। तर नेपाली कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाले त्यो सहजै स्वीकार गरे। उनको यो निर्णयले नेकांका संस्थापक नेता कृष्णप्रसाद भट्टराई ले आफ्नो दल नै परित्याग गरे। त्यो परिवर्तनको केही वर्षमा नै राजसंस्था त बिदा भयो, स्वयम् गिरिजाप्रसाद कोइराला र उनको दल नेपाली कांग्रेसको राजनीतिको मियोबाट अहिले कुन स्थानमा पुगेको छ भनिरहनु पर्दैन।
नेपाली राजनीतिमा नियमित घटनाहरु आकस्मिक रुपजस्तो गरी बेलाबखतमा प्रकट भइ नै रहेका छन्। २००७ सालको क्रान्ति होस् कि २०६२/०६३ को आन्दोलन अनि १२ बर्षे माओवादी हिंसात्मक आन्दोलन। सबै नियमित घटना आकस्मिक रुपमा प्रकट भएका हुन्। २००७ सालमा पनि क्रान्तिपछि भारत सरकारले डाँका भनी पक्राउ गरेर नेपालमा बुझाइएका नेता डा. केआई सिंह प्रधानमन्त्री बनेर भारतमा नै २१ तोपको सलामीसहित राजकीय भ्रमणमा गएको इतिहास छ।
भारतमा हिन्दु अतिबादीहरु कहलिएकाहरुको समयमा नै हिन्दु अधिराज्यको उन्मूलन र हिन्दु राज्यलाई उग्रबाबादी कम्युनिष्टहरुले विस्थापन गरेको पनि अप्रत्यासित लाग्न सक्छ तर त्यो नेपालको राजनीतिको नियमित घटना हो। अझै भन्दा भारत लगायत विश्वभरिबाट कम्युनिष्ट बढारिँदा नेपालमा यिनको बढ्दो बर्चस्व आफैँमा आकस्मिक हो। भारतसँग सभ्यता, संस्कृति, धर्म, भूगोल सबैले जोडिएको नेपालमा बाम-बामको जगजगी छ। जबकी भारतमा बोल बम पक्षीय भारतीय जनता पार्टीको शासन छ । यो हेर्दा असम्भव लाग्छ तर यथार्थ हो।
२००७ सालदेखि नै आकस्मिक घटनाहरु
दुई ठूला शक्तिशाली देशको बिचमा रहेको नेपाल राज्यमा २००७ सालपछि आकस्मिक जस्ता देखिने आकस्मिक घटनाहरु निरन्तर जारी छ। नेपालको उत्तरी छिमेकी चीनमा कम्युनिष्ट शासन प्रणाली छ। तर नेपालका कम्युनिष्टहरुको उत्पत्ति भारतमा भएको हो। नक्सालबादी हुन् कि माओबादी, सबैले भारतबाट नै नेपालमा हाँगाबिँङा फैलाएका छन्। अरु त अरु माओत्से चुङको जन्मजयन्तीको दिनलाई उत्साहपूर्वक मान्ने नेता प्रचण्डले प्रजातान्त्रिक पार्टीका नेता शेरबहादुर देउवा सत्तालाई विस्थापित गर्दा पनि हिन्दुवादी दल नै नेपालको दक्षिण छिमेकको सत्तामा थियो। नदेखिने तर सुक्ष्म रुपमा द्वन्द्वमा रहेका विश्वका दुई विशाल सभ्यता र जनसंख्याको हिसाबले पहिलो र दोस्रो स्थानमा रहेका रुपमा रहेको परम्परागत, अविकसित र सीमित क्षमता भएको नेपालमा यस्तो नियमित तर आकस्मिक घटनाहरु दोहोरिने र तेहेरिने छन्।
अपरिपक्व र सत्तालोलुप नेतृत्व सबै दलमा विद्यमान रहेसम्म अहिलेको अस्थीर अवस्था थप लम्बिने सम्भावना छ। त्यसैले नेपालीले अझ धेरै नियमित तर आकस्मिक घटना हेर्नुपर्ने छ। रविपछि कवि र ओलीपछि अरु कैयन बोली नेपालमा निक्लिरहनेछन् जसले नेपालको नियमित तर आकस्मिक देखिने राजनीतिक अस्थिरतालाई निरन्तरता दिने छ।
नेपालविज्ञ अमेरिकी विद्वान प्राध्यापक स्वर्गीय लिओ रोजको शब्दमा नियमित रुपमा घट्ने नेपालको आकस्मिक राजनीतिक उथलपुथलका घटनाहरु नेपालका नियति हुन्। रोजले उनको पुस्तक नेपाल स्ट्राटेजी फर सर्भाइभलमा लेखेका छन्- सानो मुलुकको आन्तरिक नीति ठूला देशको विदेश नीतिमा भर पर्छ। ठूला देशको विदेश नीति तिनको आन्तरिक नीतिले प्रभावित पार्छ। यसबाट नेपालमा आकस्मिक घट्ना नियमित रुपमा किन हुन्छ बुझ्न सकिन्छ।