मधेसः मुख्यमन्त्रीका लागि आजै दाबी पेश गर्ने तयारी

जनकपुरधाम – मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टीले विभिन्न दलहरुसँग मिलेर प्रदेश प्रमुखसमक्ष आजै दावी पेश गर्ने तयारी गरेको छ।

जसपाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दावी पेश गर्ने तयारी गरेको हो।

जसपा मधेस प्रदेशका प्रमुख दल नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत केही स्वतन्त्र सांसदको समर्थनमा दाबी पेश गर्न लागेको हो। यसका लागि प्रदेशसभामा जसपा विभिन्न दलहरुसँग विभिन्न चरणमा छलफल गरिरहेको छ।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक छ। वर्तमान गठबन्धनसँग बहुमतभन्दा बढी सांसद छन्।

मधेस प्रदेशमा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रका ९/९, नेकपा एसका ७ जना प्रदेशसभा सदस्य छन्।

यस्तै, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका १/१ जना सांसद छन् भने ५ जना स्वतन्त्र सांसद छन्।

प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीमा दाबी गर्नका लागि दलहरुलाई पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिएका छन्।

पुस २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्