डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज

भोजपुर– भोजपुरका मालपोत तथा नापी कार्यालयमा सुरु भएको डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज बनाएको छ।

सरकारले लागु गरेको भूमिसम्वन्धी डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै यहाँबाट प्रवाह हुने सेवामा चुस्तता आएको हो । यो प्रविधिबाट काम छिटो छरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विस्वास बढेको छ।

यहाँको भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनमा रहने भएकाले आवश्यक परेको बेलामा सहजरुपमा विवरण पाउन सकिने स्थानीयवासीको भनाइ थियो।

प्रविधिको प्रयोगले नागरिकले पनि सहजरुपमा सेवा पाउन थालेका छन् । जग्गासम्वन्धी विवरणको जानकारी लिन विगतका पुराना फाइल खोज्दा समय लाग्ने भए पनि अहिलेको प्रविधिले सहजरुपमा पाउने सकिने अवस्था बनेको सेवा लिन मालपोत कार्यालय आएका स्थानीयबासी बमबहादुर राईले बताए।

‘‘सरकारले लागु गरेको डिजिटल प्रविधिबाट काम गर्न सहज छ’’ उनले भने,‘‘विगतमा जग्गा सम्बन्धी कारोबार गर्न निकै झन्झट थियो । यो प्रविधिको प्रयोगले जग्गामा हुने विभिन्नखाले विकृति रोक्न टेवा पुग्ने रहेछ ।’’

डिजिटल प्रविधिले जग्गाको विवरण, नक्सा प्रिन्ट, नक्साङ्कनलगायत सबै काम गुणस्तरीय हुनाका साथै नागरिकलाई चाँडो सेवा प्रदान गर्न सकिने नापी कार्यालयले जनाएको छ। यो प्रविधिको प्रयोगले क्षेत्रफलमा एकरुपता हुने र प्रतिकुुल समयमा पनि छिटृै नक्सा तयार गरी प्रिन्ट गर्न सकिने जिल्ला नापी कार्यालयका प्रमुख देवकुमार बस्नेतले बताए।

‘‘भूमि सम्वन्धी कामलाई डिजिटल बनाइएसँगै काम गर्न सहज भएको छ’’ उनले भने यसले गर्दा कर्मचारीको कार्यबोझ कम गराउनाका साथै सेवाग्राही नागरिकलाई सहजरुपमा सेवा दिन सकिने र पुरानो विवरण खोज्न पनि सहज भएको छ।’’

यो प्रविधिबाट कुनै पनि ब्याक्तिको नाममा नेपालभर रहेको जग्गालाई सहजरुपमा पत्ता लगाउन सकिने जनाइएको छ। जग्गाधनीको विवरण अनलाइनमा राखिने भएकाले जहाँबाट पनि उनीहरुको वितरण हेर्न सकिने मालपोत कार्यालयले जनाएको छ।

रजिष्ट्रेशन दस्तुर, पूँजिगत लाभकर र सेवा शुल्कजस्ता राजस्व रकमको गणना स्वचालित प्रणालीबाट हुनेहुँदा कार्यालयभित्र हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न यसले थप टेवा पुगेको कार्यालयका प्रमुख रविन मगरले बताए । यो प्रविधिको प्रयोगले काम पारदर्शी हुनाका साथै राजस्व सङ्कलनमा समेत सहज हुने उनको भनाइ थियो।

‘‘प्रविधिको विस्तारले सेवा प्रवाहमा धेरै सहज छ’’ प्रमुख मगरले भने,‘‘ काममा चुस्तता आएको छ । यसले राजस्व सङ्कलनमासमेत सहज भएको छ भने यहाँ हुने बेथिति नियन्त्रणमासमेत महत्वपूर्ण भूमिका खेलेको छ।’’

विद्युत् प्रवाह नियमित नहुँदा भने काममा केही बाधा पुग्ने गरेको छ । त्यस्तै इन्टरनेट तथा सर्भरमा आउने समस्याले सेवा लिन कठिनाइ हुने गरेको सेवाग्राहीले बताउने गरेका छन् । सेवा प्रवाहलाई थप चुस्त बनाउन कार्यालयमा जोडिएको इन्टरनेटलाई प्रभावकारी बनाउन आवश्यक रहेको सेवाग्राही अग्निप्रसाद घिमिरेले बताए।

‘‘डिजिटल प्रविधिले काम गर्न धेरै सजिलो छ’’ उनले भने,‘‘ तर विद्यु्त् तथा इन्टरनेटमा आउने समस्याले भने सेवा प्रवाहमा बाधा हुने गरेको पाएको छु । प्रविधिमा समस्या हुँदा सेवाग्राहीले दुःख पाउनु पर्ने अवस्था छ।

यस्ता खालका समस्या समाधानमा भने ध्यान दिन आवश्यक छ । यो राम्रो पक्ष हो ।’’राज्यले अघि सारेको यो प्रविधिका कारण मानिसहरु जग्गा कारोबारमा हुने ठगीबाट जोगिने सेवाग्राही घिमिरेले बताए।

पुस २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्