तीन करोडको स्याउ उत्पादन, साठी लाखको बिक्री

सिमकोट – यस वर्ष हिमाली जिल्ला हुम्लामा तीन करोड मूल्यका स्याउ उत्पादन भएको पाइएको छ। स्याउ उत्पादन राम्रो भए पनि बजारको समस्याको कारण जम्मा साठी लाख मूल्यका स्याउ बिक्री भएको पाइएको हो।
सिमकोट गाउँपालिका– ६ का जयचन्द्र रोकायाले आफूले ५० क्विन्टल स्याउ उत्पादन गर्न सफल भएको बताए। स्याउ उत्पादन राम्रो भए पनि बिक्री २५ क्विन्टल मात्र गर्न सफल भएको भन्दै उनले अहिले पनि स्टोरमा स्याउ भण्डारण गरि रहेको बताए।
फागुुनसम्म बिक्री हुने उनले विश्वास गरे। केही स्याउ भने कुहिएर खेर गएका छन्। सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुुर शाहीले जिल्लाभरि ३ करोड मूल्यको स्याउ उत्पादन भएको विवरण प्राप्त भएको बताए।
यो मूल्यका स्याउमध्ये ६० प्रतिशत सिमकोट गाउँपालिकामा उत्पादन भएको उनले दाबी गरे। बजारको समस्याले गर्दा किसान साठी लाख मूल्य बराबरको स्याउ बिक्री गर्न बाध्य भएको भन्दै उनले अहिले पनि स्याउ बिक्री भइरहेका कारण बिक्री दर वृद्धि हुने बताए।
यस वर्ष सबैभन्दा बढी स्याउ बिक्री गर्न सफल किसानले पाँच लाखसम्म कमाइ गरेका छन्। स्याउ खेती गर्ने किसान बर्सेनि बढिरहेका कारण अब हरेक वर्ष उत्पादन वृद्धि हुनेछ।
सिमकोट गाउँपालिकाका सबै वडामा गरी ६२ हेक्टर जमिनमा १८ हजार ६ सय बोटले फल दिइरहेका छन्। २१ हजार नयाँ बिरुवा किसानले गत वर्षसम्म लगाएका छन्। सडक यातायात नजोडिएको र हवाई मार्गबाट ढुवानी महँगो पर्ने भएकाले किसानले उत्पादन गरेको स्याउ बाहिर बिक्रीका लागि जाने अवस्था छैन।
हुम्लामा स्याउको बजार भनेको कर्मचारी र व्यापारी हुन् भने नासोको रुपमा समेत बिक्री हुने गरेको छ। कृषि विकास कार्यालयले मात्र १३ केजी ओजन धान्ने तीन हजार पाँच सय कार्टुन सिमकोट बजारमा बिक्री गरेको जनाएको छ।