भण्डारीद्वारा अमेरिकी संसदमा शपथ ग्रहण

वाशिङ्गटनडिसी- अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्बली’मा दोस्रो पटक विजय हासिल गरेका नेपाली मूलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन्।

नेपाली मूलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन्। मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारी हिन्दूहरुको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिएका हुन्।

शपथ ग्रहणपछि भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रूपमा मतदाताले मत दिएर विजयी गराउनु महत्त्वपूर्ण उपलब्धी भएको टिप्पणी गरे।

भण्डारीले अगाडि थप्नु भयो, ‘म मेरो जिम्मेवारी वहन गर्दैगर्दा अमेरिकामा रहनुभएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु।’

भण्डारीले आफनो कार्यकालय रहेको स्थानमा नेपालको झण्डा र सगरमाथाको फोटोसमेत राखेका छन्।

मेरिल्याण्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिष्ट्रिक आठ बाट १९ हजार सात सय दुई मत ल्याएर गत नोभेम्बर महिनाको ८ तारिखमा भएको निर्वाचनमा विजयी भएका थिए।

उनी उक्त क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन्। भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधयेक संसदबाट पारित गराउन सफल भएका थिए।

स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गरेका भण्डारीले महामारीको बेलामा कसरी जुध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताएका छन्।

अमेरिकामा एक आप्रवासीको रुपमा नेपालबाट सन् २००५ मा अमेरिका आएका भण्डारीले डेढदशक भन्दा बढी मेरिल्याण्डको विद्यालयमा अध्यापन गराएको अनुभव छ भने मेरिल्याण्डमा रहेको युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारिधिसमेत गरेका छन्।

व्यावसायिक, राजनीतिक र अध्ययनमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकनको लागि मात्र नभइ एशियाली अमेरिकनहरुको लागि पनि रोचक रहेको छ।

पुस २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्