मधेस प्रदेशमा पर्यटक आगमनमा २५४ प्रतिशतले वृद्धि

जनकपुरधाम – अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै अहिले जनकपुरधाम भरिभराउ छ। भारतको विभिन्न स्थानबाट दर्जनाँै गाडीमा भारतीय पर्यटक आउँदा यहाँको धर्मशाला तथा होटल भरिभराउ भएको छ।

भारतको बिहार, युपी, आगरालगायत स्थानबाट पर्यटक नयाँ वर्ष मनाउन जनकपुरधाम आउने गरेका छन्। तर यहाँ घुम्न आए पनि उनीहरू सीमित स्थानमा घुमेर फर्कने गरेका छन्।

मधेस प्रदेशको पर्यटकीय स्थलको प्रचारप्रसार नहुँदा यहाँ आउने पर्यटक जनकपुरधामको जानकी मन्दिरमा दर्शन गरेर फर्कने गर्छन्।    उद्योग, पर्यटन तथा वन मन्त्रालय मधेस प्रदेशका सचिव विशाल घिमिरेले उद्योग, पर्यटन र वन सँगसँगै परेका कारण पर्यटन कम्लेक्स विषय बनेको बताए।

उनले पर्यटन यस प्रदेशको प्राथमिकतामा रहेको र नीति तथा कार्यक्रम र बजेटमा समेत रहेको भन्दै २०७९ सालदेखि प्रदेशको तीन स्थानमा पर्यटनका लागि कार्यालय स्थापना गरेको र सोही कार्यालयबाट पर्यटनसम्बन्धी कार्य भइरहेको बताए।

उनले मधेसको रहनसहन र भारतको बिहार, युपीको रहनसहन, धर्मसंस्कृति एकै प्रकारको रहेकाले उनीहरूलाई बढीभन्दा बढी भित्र्याउनुपर्ने आवश्यकता रहेको र यहाँ आउने पर्यटकलाई कसरी बढीभन्दा बढी रोक्न सक्ने, नयाँ गन्तव्यको प्रचारप्रसार गर्ने त्यसतर्फ मन्त्रालय लागेको बताए।

मधेस प्रदेशमा घुम्न आउने पर्यटकको संख्यामा अढाई सय प्रतिशतले वृद्धि भएको छ। आठ वटा जिल्ला रहेको मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा २० हजार ७३३ जना आएका छन्।

नेपाल राष्ट्र बैँक जनकपुर कार्यालयले सार्वजनिक गरेको वर्षिक प्रतिवेदन २०७९ का अनुसार गत वर्षको तुल्नामा यस वर्ष २५४.५९ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार ०७७/७८ मा भने यस प्रदेशमा पर्यटक आउनेको संख्या ५ हजार ८४७ मात्रे थियो। गत वर्ष ५७.३५ प्रतिशतले पर्यटक आगमनको संख्यामा ह्रास आएको थियो।

समीक्षा वर्षमा पर्यटक आगमन संख्यामा उल्लेखनीय वृद्धि हुनुमा विग वर्षमा कोभिड १९ ले पर्यटक आगमन ठप्प रहेकोमा सोको प्रभाव विस्तारै कम हुँदै गएर पर्यटक आवागमनमा सहजता आई सो क्षेत्रको गतिविधि बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
०७८÷७९ मा आउने पर्यटकमध्ये ९०.६९ प्रतिशत पर्यटक भारतीय नागरिक छन्। यस्तै, चीनबाट १.८३ प्रतिशत र तेस्रो मुलुकबाट ७.४८ प्रतिशत पर्यटक आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

समीक्षा वर्षमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएपनि भारतबाट आउने पर्यटकको संख्यामा कमी आएको प्रतिवेदनले देखाएको छ।

मधेस प्रदेशमा पर्यटकको संख्यामा वृद्धि हुँदा प्रदेशको पर्यटकस्तरीय होटलमा कार्यरत कर्मचारीको संख्यामा समेत वृद्धि भएको हो।
समीक्षा वर्षमा ३६.४३ प्रतिशतले होटलमा कार्यरत कर्मचारीको संख्यामा वृद्धि भएको हो। ०७७/७८ मा भने २६.७० प्रतिशतले यस क्षेत्रमा रोजगारीमा ह्रास आएको थियो।

पुस २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्