शिव प्रकाशको पहिलो उपन्यास 'समभोक' किन पढ्ने?

संसारमा तीन कुरा अजम्बरी छन्- भोक, भोग र सम्भोग ! (भिडियो स्टोरी)

नेपाली साहित्यमा एकदमै फरक र जटिल विषयमा पहिलोपटक उपन्यासका रुपमा प्रकाशित कृति हो ‘समभोक’। यो कृति साहित्यकार शिव प्रकाशले पाठक माझ आफ्नो पहिलो उपन्यासको रुपमा पस्किएका हुन्। यसलाई आख्यानको आविष्कार पनि भनिएको छ। भोक, भोग र सम्भोगको मनन–मन्थनबाट विनिर्मित विधा आख्यान हो- ‘समभोक’।

‘भोक, भोग र सम्भोग यिनै तीन कुरामा संसार चलेको छ। मानिसका लागि यिनै तीन कुरा सबथोक हुन्’, शिव प्रकाश भन्छन्, ‘संसारमा तीन कुरा सधैं बाँचेका छन् र संसारलाई तीन कुराले सधै बँचाएका छन्। ती हुन्– भोक, भोग र सम्भोग। यी तीन कुरा मरे भने संसारको अस्तित्व सकिन्छ।’

साहित्यकार शिव प्रकाश मोरङमा जन्मिएका हुन्। उनले साहित्य, दर्शन र राजनीतिक विषयमा कलम चलाइरहेका छन्। यसअघि उनले ‘जैमली’ र ‘घागी’ कथासङ्ग्रह प्रकाशित गरिसकेका छन्। त्यस्तै ‘जय नेताजी’ र ‘गोलमाल’ हास्यव्यङ्ग्य कवितासङ्ग्रहसमेत प्रकाशनमा ल्याइसकेका छन्। ‘समभोक’ उनको पाँचौं कृति हो।

चिरनूतन विषय, प्रयोग, झरिलो भाषा र सूक्ष्म शैलीमा विचरित यो उपन्यास पाठकको हातमा परेपछि बिसाउने मेसो नपाउने लेखकको दाबी छ।

दर्शन हराउँदै गएको रूखो नेपाली साहित्यको फाँटमा एउटा नयाँ दुस्साहसको रुपमा ‘समभोक’लाई लिन सकिने लेखकको दाबी छ।

‘समभोक’ प्रकाशित गर्नु आफैँप्रतिको वाचा भएको उनी बताउँछन्।

उनी भन्छन्, ‘मलाई लेख्नु थियो, आफैँप्रति एउटा वाचा थियो मैलै त्यो पुरा गरे, एकदमै खुसी छु।’

मानिसभित्रको मनोविज्ञान र दर्शनका आँखाले हेर्दा धेरै कुरा फरक हुन्छ भन्ने कुरालाई उनले पुस्तकमा उल्लेख गरेका छन्। ‘दर्शनका आँखा खोलेर हेर्ने प्रयत्न मैले गरेको छु। पाठकले पनि पुस्तक पढ्दै जाँदा त्यो कुराहरु पाउनुहुन्छ,’ उनी भन्छन्, ‘यी विषयहरुलाई हामीले जसरी बुझैका छौँ, त्यो फरक ढंगले पनि बुझ्न सकिँदो रहेछ, यिनको अर्थ फरक पनि रहेछ भन्ने कुरा पाठकले पाउनुहुन्छ।’

भोक, भोग र सम्भोग संसारमा बाँचेका तीन कुरा यिनै हुन् र यो कहिल्यै मर्दैन भन्ने धारणा राख्छन् उनी।

‘भोक, भोग र सम्भोग संसारमा बाँचेका यिनै तीन कुरा छन् र यो कहिल्यै मर्दैन र यसमा नै संसार चलेको छ,’ उनी भन्छन्, ‘यो विषयमा धेरै समीक्षा गरियो, वैचारिक बहसहरु पनि भए तर आख्यानीकरण भए कि भएन भनेर हेर्दा यी तीनै कुरामा समग्रमा आख्यानीकरण भएको पाइन, त्यही कुराले पनि यस विषयमा कलम चलाउन ट्रिगर गर्‍यो।’

उनी अमेरिकाको बोस्टनमा बसेर पनि नेपाली साहित्यमा कलम चलाउँदै आएका छन्। अहिलेको नेपाली साहित्यले युनिभर्सल विषयमा कलम चलाएको नपाएपछि उनले ‘समभोक’ लेख्ने निर्णय गरेका थिए।

पाठकहरुले ‘समभोक’ पुस्तकबाट राम्रोसँग मनोरञ्जन लिने उनको भनाइ छ।

‘समभोक’मा लेखिएको छ, ‘भोकले साइनो बदल्छ। भोकले सम्बन्ध बदल्छ। भोकले नाम बदल्छ। भोकले काम बदल्छ। भोकले मान्छे बदल्छ। भोकले संसार बदल्छ। भोक, मान्छेको योग्यता हो। भोक, मान्छेको सबैभन्दा ठूलो बौद्धिकता हो। बौद्धिक सम्पत्ति हो।’

‘मूलढोकामाथि टाँसिएको नाग जस्तै हो, साइनो। साइनोको समाजशास्त्र बुझ्न नागको चित्र हेरे हुन्छ। ढोकामाथिको नागलाई दूध ख्वाउनु पर्दैन। साइनो पनि लगाउने हो, पालना गर्नु पर्दैन। मान्छेको चरित्र समान छ। सन्मुख हुँदा ढोकामाथिको नागलाई जस्तै पूजा गर्ने। विमुख हुँदा ढोकामुनि चेपमा बसेको नागले जस्तै डस्ने। भोकको वाइ–प्रडक्ट हो साइनो।’

यस्ता थुप्रै रोचक लाइनहरुले पाठकलाई पुस्तक पढौँ पढौँ बनाइरहन्छ।

‘मैले के ठान्छु भने साहित्यको किताब पढ्दा किताबले आफूलाई तानोस् आफूले किताबलाई तानेर पढ्यो भने त्यो मज्जा हुँदैन,’ उनी भन्छन्, ‘पाठक भनेको फलाम हो। त्यसैले किताब चाहिँ पाठकको लागि चुम्बक जस्तो हुनुपर्छ भन्ने मलाई लाग्छ र मेरो यो किताबमा पाठकले त्यो कुरा पाउनुहुन्छ।’

पाठकले ‘समभोक’ पढ्दै जाँदा निरास भने पक्कै नहुने र केही नयाँ कुरा पक्कै पाउने उनी बताउँछन्।

तपाईँले पुस्तकमा जुन कथा समेट्नु भएको छ, त्यो अमेरिकामा बसेका नेपालीहरुलाई मात्रै लक्षित गरेर उठाउनु भएको हो वा संसारभरका नेपालीलाई समेट्न खोज्नु भएको हो? भन्ने प्रश्नमा उनी भन्छन्, ‘क्षेत्रीयता, जातीयता, उमेर, भूगोल आदि सबै भन्दा माथगि यिनै तीन कुरा भोक, भोग र सम्भोग छन् जस्तो लाग्छ, मलाई त्यसैले मैले एउटा युनिभर्सल टपिक उठाएको मात्रै हुँ।’

‘संसारभरका आप्रवासीहरु प्रवृत्ति एउटै हो, मनोदशा एउटै हो। त्यसैले एउटै प्रकारको समस्या जुन छ त्यसमा केन्द्रित छ यो पुस्तक,’ उनी भन्छन्, ‘अमेरिकाका नेपाली भनेको प्रतिनीधि पात्र मात्रै हुन्। यो वास्तवमा सम्पूर्ण संसारभर छरिएर रहेका नेपालीहरुको कथा हो।’

धेरैजसो पुस्तकहरु सुरुका केही पेज र अन्त्यका केही पेज मात्रै पढौँ पढौँ लाग्ने हुन्छन् तर ‘समभोक’ भने पुरै कथा पढ्दा समेत पाठकले ‘बोर’ फिल नगर्ने उनी बताउँछन्।

कतिपय पुस्तकहरु सुरुमा केही पेज राम्रो लेख्ने र अन्त्य मात्रै राम्रो राख्ने चलन छ तर ‘समभोक’ त्यस्तो छैन। ‘पाठकले एकपटक पढ्न सुरु गरेपछि बिसाउने ठाउँ नै पाउँदैनन्,’ उनी भन्छन्, ‘यसमा यी तीन कुरा भोक, भोग र सम्भोगलाई उनेर लगिएको छ जसले गर्दा कथा पढ्दै जाँदा कति कतै पनि झन्झटिलो लाग्दैन।’

पुस २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्