विमान दुर्घटनाः थप एक जनाको शव भेटियो, दुई जनाको अवस्था अझै अज्ञात

तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।

पोखरा – पोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ। अब दुई जनाको मात्रै शव फेला परेको छैन।

साँझपख फेला परेको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए। योसँगै दुर्घटनामा परेका ७० जनाको शव फेला परेको छ।

६८ यात्रु र चालक दलका ४ सदस्य गरेर विमानमा ७२ जना सवार थिए। अज्ञात रहेका दुई जनाको मंगलबार बिहानैबाट खोजी गर्ने उनले जानकारी दिए। ड्रोन क्यामेराको सहायताले खोजी गर्ने एसपी केसीको भनाइ छ।

अस्पतालमा लगिएका शवमध्ये २४ जनाको मात्रै पोखरामा पोस्टमार्टम हुनेछ। एक जनाको पोस्टमार्टमा गरेर परिवारलाई शव बुझाइएको छ। आजै थप दुई शवको पोस्टमार्टम हुनेछ।

माघ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्