कठ्यांग्रिएका १५ सन्थाल परिवारलाई सहयोगी मनहरू नेपालको न्यानो

झापा – बाँसका भाटाले बारेको घरको बेरा ।  माटोले लिपेको सानो झुप्रोमा बिर्तामोड नगरपालिका ७ का बुद्ध हेमरम ।

उनका ५ जना छोराछोरी छन् । बिहान-बेलुका हात-मुख जाड्न नै उनको परिवारलाई धौधौ छ । न्यानो कपडा ओछ्याएर यो चिसो मौसममा न्यानो भएर सुत्न उनका लागि सपना जस्तै छ । तर, न्यानो कपडा ओछ्याएर तथा ओडेर सुत्न पाउने उनको सपना सोमबारदेखि पूरा भएको छ । सहयोगी मनहरू नेपाल नामको एक परोपकारी संख्याले न्यानो ओड्ने तथा ओछ्याउने कपडा उपलब्ध गराएर उनको सपना पूरा गरिदिएको हो ।

उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । शहरमा बसेका पैसावालाहरूको छायाँमा परेका यस्ता गरिब परिवार कति छन् कति । त्यस्ता सर्वसाधारणको पीडामा नजिकको सरकार पनि कहिलेकाहिँ बेखबर बनिदिन्छ ।

बिर्तामोड वडा नम्वर ७ मा रहेको सन्थाल समुदायका मानिसहरू बसोबास गर्ने सानो गाँउमा विगत २५ बर्षदेखि भूमिहीन परिवारहरूले बार्षिक १ हजार रुपैयाँ जमिन कर तिरेर दुःखले आफ्नो जीवन ब्यतित् गरिरहेका छन् । कहिलेकाहिँ त त्यही कर पनि तिर्न उनीहरूलाई अप्ठ्यारो पर्छ ।

पिछडिएका, कसैको आखाँ नपुगेका अति विपन्नलाई सहयोग गर्दै आएको सहयोगी मनहरू नेपालले विभिन्न समयमा समाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका अभियान सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष भिमप्रसाद आचार्यले बताए ।

अमेरिकाको न्युर्योक बस्ने दाता भगवती रिमाल खनाल र सुसिला गुरुङको सहयोगमा सोमबार १५ घर परिवारलाई सिरक तथा डस्ना उपलब्ध गराइएको संस्थाका महासचिव विष्णु उप्रेतीले बताए ।

बिर्तामोड वडा नम्वर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले यो चिसोको समयमा कठ्याङग्रिएर बस्नु नपरोस् भनी सहयोगी मनहरु नेपालले न्यानो कपडा वितरण गरेको भन्दै संस्थालाई गरिबको आर्शिवाद लाग्ने बताए ।

मठमन्दिर गएर पूजा गर्नु भन्दा ती कठ्यांग्रिएर बस्न बाध्य विपन्न परिवारलाई सानो सहयोग मात्र गर्न सके पनि आत्मसन्तुष्टि मिल्ने संस्थाका अध्यक्ष आचार्य बताउँछन् ।

माघ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्