मधेसका मुख्यमन्त्रीलाई कांग्रेस र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

फाइल तस्बिर।

जनकपुरधाम- मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले समेत विश्वासको मत दिने भएका छन्।

बुधबार ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ।

गत बुधबार जनता समाजवादी पार्टीको संसदीय दलको नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले तीन बिनाविभागीय मन्त्रीसहित शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए।

मधेस प्रदेशमा १०७ जना सांसद रहेपनि हाल १०५ जना प्रदेशसभा सदस्य कायम छन्। अहिले मधेस सरकार गठनका लागि बहुमतका लागि ५३ सांसदको आवश्यकता रहेकोमा मुख्यमन्त्री यादव ६३ सांसदको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिनेछन्।

नेपाली कांग्रेसका प्रदेश सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीले विश्वासको मत मागेकाले आफूहरूले विश्वासको मत दिने बताए।

यस्तै, नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य रतनेश्वर गोइतले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए।

प्रदेशसभामा रहेका १० राजनीतिक दलमध्ये नेकपा एमालेका २३, जनता समाजवादी पार्टीका १६ जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक र दुई स्वतन्त्र गरी ६३ जनाको मुख्यमन्त्रीलाई पहिला नै समर्थन रहेको छ।

लोसपाको ९ जना प्रदेशसभा सदस्य रहेकोमा लोसपाले समेत विश्वासको मत दिने छन्। बाँकी रहेका स्वतन्त्र सांसदले यादवलाई विश्वासको मत दिए उनले विशाल मत पाउनेछन्।

माघ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्