देवराज घिमिरेः जसले मनमोहनको मताधिकार प्रयोग गरेर एमालेलाई महाकाली सन्धिको पक्षमा उभ्याए

काठमाडौँ – बहुचर्चित महाकाली सन्धिका बारेमा आज परेन्त नेपाली राजनीतिमा पक्ष विपक्षमा छलफल र विवाद छ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले २०५२ साल माघ २९ गते गरेको महाकाली सन्धि संसदको दुई तिहाइ बहुमतले अनुमोदन गर्नुपर्ने थियो।

सन्धिको पक्षमा संसदमा मतदान गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन एमालेमा चर्को विवाद उत्पन्न भयो। त्यसबेला महासचिव रहेका माधव नेपाल र केपी ओली पक्ष सन्धिको पक्षमा उभिए भने वामदेव गौतम र सिपी मनौली महाकाली सन्धि राष्ट्रहित विपरीत रहेकाले त्यसको विपक्षमा पार्टीले निर्णय लिनुपर्ने अडानमा थिए।

यहीँ उल्झनमा एमाले फसेको थियो। पार्टीका प्रभावशाली नेताहरु नै दुई कित्तामा उभिए पछि सन्धिलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा एमालेको केन्द्रिय कमिटिमा मतदान हुने भयो।

२०५३ साल असोज ४ गते संसदले सन्धि अनुमोदन गर्नुअघि तत्कालीन एमालेको ३५ सदस्यीय केन्द्रीय कमिटिमा सन्धिको पक्ष र विपक्षमा मतदान भयो। मतदानबाट सन्धि अनुमोदन गर्नुपर्ने पक्षमा १८ र सन्धिको विपक्षमा १७ मत खस्यो।

एक मत मात्रै बढी हुँदा एमाले संस्थागत रुपमा सन्धिको पक्षमा उभिन सक्यो। त्यसरी एमालेलाई महाकाली सन्धिको पक्षमा उभ्याउने निर्णायक ‘एक मत’ दिएका थिए बुधबार सभामुखमा उम्मेदवारी दिएका स्थायी कमिटि सदस्य देवराज घिमिरेले। सत्ता गठबन्धनाट सभामुखको उम्मेदवार बनेका घिमिरे बिहीबार हुने मतदानबाट निर्वाचित हुने करिब निश्चित जस्तै छ।

एमालेका एक नेताका अनुसार केन्द्रीय कमिटिमा महाकाली सन्धिको पक्ष विपक्षमा मतदान हुने दिन पार्टी अध्यक्ष मनमोहन अधिकारी स्वास्थ्यको कारण देखाउँदै अनुपस्थित भए।

करिब पाँच दशक वामपन्थी आन्दोलन गरेका देवराज घिमिरे सभामुख पदका उम्मेदवार

एमालेको तत्कालीन विधानअनुसार कुनै पनि केन्द्रीय सदस्य अनुपस्थित भएमा वरियताअनुसार वैकल्पिक केन्द्रीय सदस्यहरुले बैठकमा उपस्थित हुन र मतदान गर्न पाउथे। ३५ सदस्यीय केन्द्रीय कमिटिका अध्यक्ष अधिकारी अनुपस्थित भएपछि उनको ठाउँमा विधानअनुसार वैकल्पिक केन्द्रीय सदस्यको पहिलो नम्बरमा रहेका घिमिरेले प्रतिनिधित्व गरेको नेता योगेश भट्टराई बताउँछन्।

उनले महाकाली सन्धिको प्रसंग सम्झिदै भने, ‘अध्यक्षज्यू अनुपस्थित हुनुभएपछि देवराजजीले पार्टी विधानअनुसार मतदानमा भाग लिनु भएको हो।’

नेपाल ओली समूहमा रहेका घिमिरेले सन्धिको पक्षमा मतदान गरिदिए जसले गर्दा एमालेलाई महाकाली सन्धिको पक्षमा उभिन ढोका खुल्यो। एमाले नेताहरुका अनुसार अध्यक्ष मनमोहन अधिकारी सन्धिको पक्षमा थिएनन्।

अध्यक्षको हैसियतले विवादित निर्णयको पक्ष विपक्षमा मतदान गर्न नचाहेरै उनले स्वास्थ्यको कारण देखाएर मतदान सहभागी नभएका हुन्। तर अधिकारीले आफ्नै मतदाधिकार प्रयोग नगरेर वैकल्पिक केन्द्रीय सदस्यलाई अवसर दिँदा परिणाम उनले चाहे भन्दा भिन्न निस्यो।

घिमिरेको निर्णायक मतका कारण महाकाली सन्धि संसदबाट २०५३ साल असोज ४ गते दुई तिहाइ बहुमतले पारित गरे पनि एमाले भने सिंगो रहन सकेन।

सभामुखमा आफ्नो उम्मेदवारी दर्ता गर्दै सांसद घिमिरे।

छैठौँ महाधिवेशनको मुख्य एजेण्डा बनेको त्यहीँ विवादका कारण गौतम र मैनाली पक्षले २०५४ साल फागुन २१ गते एमाले विभाजन गर्दै नेकपा माले गठन गरे। महाकाली सन्धिलाई ‘राष्ट्रघात’ मान्ने एमालेको ठूलो समूहले माले गठन गरे पनि चार वर्षमै उक्त समूह मुल पार्टीमै समाहित भयो।

२०५४ सालमा राष्ट्रियसभा सदस्य भएका घिमिरे लामो ग्यापपछि गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा झापा २ बाट निर्वाचित भएर पुन: संसदीय राजनीतिमा फर्किएका हुन्। अध्यक्ष ओलीको अति विश्वास पात्र भएकै कारण २५ वर्षपछि संसदीय राजनीतिमा फर्किए लगत्तै उनले सभामुख जस्तो महत्वपूर्ण जिम्मेवारी पाउन लागेका हुन्।

२०४८ सालको आम चुनावमा महासचिव मदन भण्डारीले इलामको क्षेत्र नम्बर १ मा झलनाथ खनाल र २ मा देवराज घिमिरेलाई उम्मेदवार बन्न आग्रह गरेका थिए।

एमाले नेताहरुका अनुसार घिमिरेले जातीय सन्तुलन मिलाउनुपर्ने भन्दै आफूलाई दिन लागेको टिकट मणि सुब्बालाई दिलाएका थिए। उक्त प्रसंग र लामो समय लाभको पदमा नरहेका कारण उनलाई एमाले कार्यकर्ता ‘सादगी नेता’ भएको दाबी गर्छन्।

महाकाली सन्धि गर्ने र त्यसलाई संसदबाट अनुमोदन गराउन तत्कालीन प्रधानमन्त्री देउवाले ठूलै कसरत गरेका थिए। एमालेलाई सन्धिको पक्षमा उभ्याउन उनको उल्लेखनीय भूमिका थियो।

देउवाकै एजेण्डा अनुमोदन गराउन एमालेमा निर्णायक मत दिने उनै घिमिरे विरुद्ध सभापति देउवाको निर्देशनमा बुधबार ईश्वरी न्यौपानेलाई कांग्रेसले सभामुखको उम्मेदवार बनाएको छ।

त्यस्तै उबेला महाकाली सन्धिको पक्षमा रहेका माधव नेपालले एमाले विभाजन गरेर गठन गरेको एकीकृत समाजवादीले पनि न्यौपानलाई समर्थन गरेको छ। एकीकृत समाजवादीका तर्फबाट प्रकाश ज्वाला न्यौपानको उम्मेदवारीमा समर्थक बसेका छन्।

माघ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्