नेपालको राजनीतिका उग्रवादी र लोकप्रिय नाराहरूः तिनमा आएका राजनीतिक उतार–चढाव

संविधानविद् स्वर्गीय गणेशराज शर्माले उग्रवाद र लोकप्रियतावादी उदार प्रजातन्त्र र देशका स्थायित्वको किन र कसरी विरोधी हुन्छन् भन्ने धारणा जीवनपर्यन्त सुनाउनुभयो।

विडम्बना उहाँको यी धारणा सुन्ने र नजिक रहेका राजनीतिज्ञहरू र बुद्धिजीवीहरू नै उग्रवाद र सस्तो लोकप्रियतावादीको प्रिय पात्र बन्न पुगे।

संयोग, स्वर्गीय शर्मासँग धेरै सम्पर्कमा रहनेहरूमध्ये नेका नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला त यो वादको सर्वमान्य नै बन्नुभयो। दमननाथ ढुंगाना उहाँहरूका प्रवक्ता अनि शेरबहादुर देउवा नेता, तर शर्माले कुनै गुनासो गर्नु भएन। राजनीतिमा ठुल्ठूला कानुनी र संवैधानिक संकट आउँदा स्वर्गीय शर्माले नै ती सबै नेताको कालोकोटमा अदालतसामु कानुनी बचाउ गर्नुभयो।

कांग्रेसका सत्ता राजनीतिमा लिप्त नेताहरूलाई शर्माको यो धारणा पाच्य कहिल्यै भएन। तर, सत्ता संकटमा पर्दा र उग्रवादीको दबाबमा पर्दा गिरिजाप्रसाद कोइरालादेखि, कृष्णप्रसाद भट्टराई शेरबहादुर देउवासम्म कानुनी र राजनीतिक प्रतिरक्षा भने शर्माले नै गर्नुभयो।

यति मात्र होइन, राजावादी अनि उग्रवादी सम्मलाई कानुनी र संवैधानिक सल्लाहसँगै प्रतिरक्षा पनि गर्नुभयो। वामपन्थी नेता मनमोहन अधिकारी, माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई अनि नारायणकाजी श्रेष्ठसम्म उहाँको कानुनी सहायता लिन पुग्थे। उहाँको राजनीतिक अडान भने परम्परागत राजसंस्था र आधुनिक प्रजातान्त्रिक शक्तिबीचको मेलमिलापबाटै नेपाल स्वतन्त्र, स्थायित्वसहित उदार प्रजातान्त्रिक मुलुकको रूपमा रहन सक्छ भन्ने रही रह्यो। राजावादी, दक्षिण पन्थी, अग्रगमनविरोधीजस्ता जति आरोप आए पनि उहाँ आफ्नो विचारमा अविचलित रहनुभयो।

राजसंस्था बिदा भयो। स्वर्गीय शर्मा पनि बित्नुभयो । तर, देशमा लामो समयसम्म एकछत्र प्रभाव जमाएका राजनीतिक शक्ति कांग्रेस र कम्युनिष्टको पनि बिदाबारीको पालो आएको हो कि जस्तो संकेत राजनीतिक क्षितिजमा देखिन थालेको छ।

सामाजिक सञ्जाल र प्रेसका नयाँ प्रविधिको विकाससँगै वर्षौंसम्म लोकप्रियतावादी र उग्रवादी नारामा हुर्केका युवा जमातले अहिले कुन शक्तिलाई स्थापित गर्ने हुन् र कसलाई विस्थापित गर्ने हुन् अनिश्चित छ।

सबै नेता अहिले अनिश्चितताको भुमरीमा छन्। अदालत, संसद्, प्रदेश र स्थानीय निकाय सबै अस्थिर छन्। नागरिकको स्वतन्त्रता प्रत्याभूति दिएर नागरिकलाई सुरक्षा प्रदान गराउनुपर्ने अदालतहरू सडक र सामाजिक सञ्जालमा आउने दबाबको प्रभावसँग जुधिरहेका छन्।

प्रधानन्यायाधीशदेखि न्यायाधीशसम्मको पद असुरक्षित छ। विगत ५ वर्षमा ३ जना प्रधानन्यायाधीशको हुर्मत लिएर अदालतलाई निरीह बनाइसकिएको छ। शर्माले व्यक्त गर्ने चिन्तन अहिले वास्तविक रूपमा प्रकट छ।

नेपाल अहिले गणतन्त्रामक, संघीय, लोकतान्त्रिक, संघीय, धर्मनिरपेक्ष राज्यमा रूपान्तरित भएको छ। समावेशीको उदाहरण मानिन्छ। तर, यी सबै परिवर्तनका बाबजुद नेपाल स्थायित्व हराएको, अस्थिर र आफ्नो निर्णय गर्ने अधिकार गुमाएको अवस्थामा छ।

समावेशीको नारा संविधानमा छ तर सात वटा प्रदेशमा न कुनै महिला न दलितले मुख्यमन्त्री बन्न पाएका छन्। यसैगरी, सामाजिक र आर्थिक विभेद बढ्दो छ। अस्थिर र उग्रवादी राजनीतिले समावेशिता, समानता र नागरिक स्वतन्त्रताको खोल ओढेर कानुनी राज्य अन्त्य, विभेद र असमानता बढावा दिएको छ।

परम्परागत राज्य व्यबस्था भत्काएर आएका कुनै पनि नेता र दल अहिले सुरक्षित छैनन्। दलभित्रै पनि नयाँ उग्र नारा बोक्नेहरू पुरानालाई विस्थापन गर्न ब्यस्त छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले बल्ल–तल्ल आफ्नो वर्चस्व राखेका छन्। एमालेमा त संस्थापक नेता माधवकुमार नेपालसमेत विस्थापित भएका छन्।

केपी ओलीसँग प्रतिस्पर्धा गर्न नसकेर त्यो दलका कतिपय नेता पलायन छन्। उग्रवाद र सस्तो लोकप्रियतावादी नारा उचालेर आउनेहरूको राजनीतिमा स्थायित्व हुँदैन। तर यसको अर्थ पुराना पुनःस्थापित हुन्छन् भन्ने पनि होइन। प्रत्येक चरणमा नयाँ–नया रूपमा यिनको उदय हुनेछ।

क्षणिक रूपमा भए पनि यिनले देशमा ठूलो हलचल ल्याउन सक्छन् भन्ने उदाहरण यही छ। उग्रवाद र लोकप्रियतावादीको कुनै सिद्धान्त र निश्चित नारा हुँदैन भन्ने कुरा त वर्तमान संसदले नै देखाइसक्यो। यो वामपन्थीविरुद्ध उग्र दक्षिण पन्थी नारा र दक्षिण पन्थीविरुद्ध उग्र वामपन्थी नारा लिएर अगाडि आउँछ। तर, यसले कलिला युवाको मस्तिष्कमा गहिरो प्रभाव पार्छ। जसले गर्दा राजनीति र समाजलाई समेत लामो समयसम्म अस्थिर राख्छ।

यही बुझेर होला अध्ययनशील र भविष्य द्रष्टा कांग्रेस नेता बिपी कोइरालाले आफ्नो जीवनपर्यन्त उग्रवादी र अराजकतावादी शक्तिसँगको सहकार्यमा परम्परागत राजसंस्थाविरुद्ध कुनै पनि संयुक्त आन्दोलन अस्वीकार गरे।

देशको स्थायित्वका लागि आफूलाई सत्ताच्युत गर्ने राजासित आफ्नो घाँटी जोडिएको टिप्पणी गरे। बीपीको उग्रवादी र लोकप्रियतावादीसँग एकता नगर्ने निर्णय कति सान्दर्भिक थियो भन्ने कुरा कांग्रेसको अहिलेको अवस्थाले बताउँछ।

सत्ताको राजनीतिमा ३० वर्षमा कुनै न कुनै रूपमा निरन्तर रहेको कांग्रेस अहिले आफ्नो अस्तित्व जोगाउन सस्तो र उग्रवादी नारा बोक्नेहरूसँग प्रतिस्पर्धा गरिरहेको छ। सस्तो नारामा उचालिएर आएको संघीय शासन प्रणाली र राज्य पुनःसंरचनाको नारा उचाल्नेमा कांग्रेस अगाडि छ।

तैपनि कांग्रेसका धेरैजसो पुराना र प्रतिभाशाली नेता दमननाथ ढुंगाना, केबी गुरुङ, गोविन्दराज जोशी, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, विनयध्वज चन्द, महेश आचार्य, रामशरण महत, लक्ष्मण घिमिरे, ओमकार श्रेष्ठ, जयप्रकाश आनन्द, राधेश्याम अधिकारी, सुनील भण्डारी राजनीतिबाट टाढिसकेका छन्। व्यापक जनाधार, बिपी वादप्रति निरन्तर निष्ठाका कारण जोशी अझै पनि राजनीतिमा आफ्नो अस्तित्व जोगाउन सफल छन्।

डाक्टर मीनेन्द्र रिजाल कांग्रेसमा बिपी र तत्कालीन राजनीतिमा उदाएका एक सक्षम दोश्रो तहका नेता थिए। वाक्कटु भएका र जवाफ सवालमा खरो प्रस्तुत हुन सक्ने यी नेतालाइ पनि अहिले उग्रवादी र लोकप्रिय नारा बोक्ने जमातले पछाडि धकेलिदिएका छन्।

सुदूरपश्चिमबाट अनवरत राजनीतिमा एकाधिकार राख्दै आएका देउवालाई समेत सस्तो लोकप्रिय नारा बोकेका युवाले ठूलै चुनौती दिएका थिए। सदैव उग्रवादी र लोकप्रिय नारामा भर पर्ने रामचन्द्र पौडेल बल्ल–तल्ल आफ्नो राजनीति टिकाइरहेका छन्। कोइराला परिवारभित्र राजनीति बुझेका डाक्टर शेखर कोइराला पनि अहिले अस्तित्व बचाउने दौडमा छन्।

नेपालको राजनीतिक क्षितिजमा ५० वर्षमा आएका यस्ता उग्र नाराले राजनीतिक व्यवस्था र राजनीतिक संस्थालाई धराशयी बनाएको उदाहरण नेपालमा धेरै छन्।

कुनै बेला नेपालको राजनीतिको मियो मानिने मध्यममार्गी कांग्रेस अहिले अस्तित्वको संकटमा छ। कांग्रेसले आफूलाई अहिलेको लोकप्रिय र उग्र नारा लगाउने दलसँग जति प्रतिस्पर्धा गरे पनि आफ्नो अस्तित्व जोगाउन सजिलो छैन।

अमेरिकी विद्वान् स्वर्गीय समुयुल पी हनटिङ्टनले तेस्रो विश्वका उदार प्रजातान्त्रिक राजनीतिक व्यवस्था र परम्परागत संस्थाहरू सस्तोलोकप्रिय नारामा बग्ने भीडको राजनीतिबाट विस्थापित हुने भविष्यवाणी १९६८ ताका नै गरेका थिए। सस्तो र उग्र नारासहित इरानको अनुदारवादी धार्मिक उग्रपन्थीले त्यहाँको आधुनिकतातर्फ उन्मुख राजसंस्था हटाएर धार्मिक कट्टरपन्थी खोमेनिलाई स्थापित गरेपछि हनटिङ्टनले नेपालको राजसंस्था यो परिवेशमा सुरक्षित कसरी रहला भनी लेखेका थिए।

आफ्नो पुस्तक Political Order in Changing Societies मा उनले लोकप्रिय नाराको उग्र आवरणमा परम्परागत तर उदार संस्थाहरू कसरी समाप्त हुन सक्छन् भन्ने बेली विस्तार लगाएका छन्।

सस्तो लोकप्रियता र स्टन्ट राजनीतिमा दिगो हुँदैन। तर, नेपालको राजनीतिक रंगमञ्च सस्तोलोकप्रियता र स्टन्टमा विश्वास गर्नेको कमी छैन। अहिले त एक किसिमको होड नै छ।

लोकप्रियतावादी नाराको होडमा सबै–सबै आफूलाई स्थापित गर्न चाहन्छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल झनै पछि पर्ने कुरो भएन। सरकार विमान दुर्घटना रोक्न दीर्घकालीन उपचार खोज्नु र नीतिगत सुधारभन्दा एकदिने बिदा दिएर राष्ट्रिय शोक घोषणा उपयुक्त ठान्छ र लोकप्रियता यसैमा देख्छ।

लोकप्रियता वादी कामको दौडमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि कुदेकै छन्। पदभार ग्रहण गरेको दुई दिनभित्र सडकका खाल्टा टाल्ने घोषणा गरे र त्यसको अनुगमन र निरीक्षणमा आफैँ कुदेका छन्। मन्त्रीको निर्णयपछि कतिवटा खाल्टा खुल्टी पुरियो त्यो तथ्यांक आएको छैन। तर, मन्त्रीसहित आधा दर्जन उच्चपदस्थ कर्मचारी सडक टालटुल अभियानमा सरिक भएका फोटा भने मन्त्रीका सामाजिक सञ्जाल र विद्युतीय माध्यममा प्रसारित छन्। डेनिस लेखक हान्स क्रिस्चियन एन्डरसनद्वारा लेखिएको एक साहित्यिक लोककथाको EmperorÚs New Cloth (सम्राट्को नयाँ लुगाहरू) पात्रजस्ता देखिएका छन्।

अर्का उपप्रम र गृहमन्त्री रवि लामिछानेको आफ्नै तरिका छ। सञ्चारकर्मी र टेलिभिजन प्रस्तोता भएपछि सस्तो लोकप्रियता कसरी आर्जन हुन्छ उनले बुझेका कुरा भयो। त्यसैले उपप्रम भएको तेस्रो दिन नै प्रहरीको इस्कोर्ट अघि–अघि लगाउँदै सहसचिव स्तरको हाकिम हुने राहदानी विभागमा पुगेर त्यहाँ भएका भीड केही दिनमै कम गर्न निर्देशन दिए। तर, निर्देशन दिएको रात देखिने प्राविधिक समस्याले गर्दा झन्डै एक हप्ताजसो प्राविधिक समस्याले गर्दा राहदानी वितरणमा अवरोध आयो।

लामिछानेले अझ एक पाइला अघि बढ्दै त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा अतिविशिष्ट (भीआइपी) कक्ष प्रयोग नगर्ने र सर्वसाधारणजस्तै बस चढेर विमान चढ्ने घोषणा गरे। आफैँले सञ्चालन सुरु गरेको टेलिभिजनमार्फत बसमा यात्रुसँग गुनासो सुन्दै गरेको समाचार प्रसारण गरे। सामाजिक सञ्जालका आफ्ना समर्थकको भरपुर प्रयोग गरे।

०६२/६३ को आन्दोलनताका परम्परागत राजसंस्थाविरुद्ध उत्तेजनात्मक र सस्तो लोकप्रिय नारा उचालेर कांग्रेसको राजनीतिमा उदाएका गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, रामहरि खतिवडालगायत अन्य नेता त्यो लोकप्रिय नारामा तैरिरहेका छन्। तर, बालेन शाह, रवि लामिछानेजस्ता नवलोकप्रियतावादीको राजनीतिमा भएको उदयले यिनको वर्चस्वलाई चुनौती दिइसकेको छ।

उग्रवाद र सस्तोलोकप्रियतावादी नारा उचालेर आउनेहरूको राजनीतिमा स्थायित्व हुँदैन। तर, क्षणिक रूपमा भए पनि यिनले देशमा ठूलो हलचल ल्याउन सक्छन्। उग्रवाद र लोकप्रियतावादीको कुनै सिद्धान्त हुँदैन। यसले कलिला युवाको मस्तिष्कमा गहिरो प्रभाव पार्छ।

जसले गर्दा राजनीति र समाजलाई समेत लामो समयसम्म अस्थिर राख्छ। कांग्रेस नेता बिपी कोइरालाले आफ्नो जीवनपर्यन्त उग्र, अराजकतावादी शक्तिसँगको सहकार्यमा अस्वीकार गरे।

नेपालको राजनीतिक क्षितिजमा विगत ५० वर्षमा आएका यस्ता उग्र नाराले राजनीतिक व्यवस्था र राजनीतिक संस्थालाई धराशयी बनाएको उदाहरण नेपालमा धेरै छन्। कुनै बेला नेपालको राजनीतिको मियो मानिने मध्यममार्गी कांग्रेस अहिले अस्तित्वको संकटमा छ। नेपालमा प्रजातन्त्र र जनअधिकार स्थापना गर्ने पार्टीको रूपमा दावा गरे पनि कांग्रेसले आफूलाई अहिलेको लोकप्रियता र उग्र नारा लगाउने दलहरूसँग बच्न सजिलो छैन।

उग्रवादी र लोकप्रियतावादीको गठबन्धनका नेता, बुद्धिजीवीले राजसंस्था गएपछि नेपालको प्रजातन्त्र सदैव सुरक्षित र उत्कृष्ट हुने र राजनीतिक स्वतन्त्रताले नेपालको आर्थिक विकास चुचुरोमा पुग्ने सपना बेचेका थिए। नेपालबाट राजतन्त्र गयो तर अस्थिरता र अनिश्चयताले हजारौँ युवा विदेश लागिरहेका छन्।

उग्रवाद र लोकप्रियताको नारामा सवार नेपालको राजनीति नयाँ रूप, नयाँ उत्साहसहित उदाउने र अस्ताउने जमातको क्रीडास्थल भएको छ। त्यसैले राजनीतिक स्थायित्व र स्थिरता मृगतृष्णाजस्तो मात्र देखिन्छ। यसको तत्कालै कुनै अन्त्य पनि छैन।

(पौडेल न्यु स्पट्लाइट अंग्रेजी पाक्षिक पत्रिकाका सम्पादक हुन्)

माघ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्