विमानस्थलले उल्टै गर्‍यो पासोजस्तो ट्राभलेटरको बचाउ

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी विमानस्थलमा रहेको असुरक्षित र पासोजस्तो इलेभेटरको उल्टै बचाउ गरेको छ।

मंगलबार मध्यरात काखे छोरीसहित त्रिभुवन विमानस्थलमा अवतरण गरेकी नायिका उषा रजकले आफूसहित आफ्नो छोरी पासोजस्तो इलेभेटरका कारण दुर्घटनामा परेको उल्लेख गर्दै भिडियो पोस्ट गरेपछि मर्कामा परेका हजारौँ यात्रुहरुले उनीप्रति ऐक्यबद्धता जनाएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटरमा अड्किएर आफू र छोरी लडेपछि नायिका रजकले टिकटकमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ। ट्रली र सुटकेसबीच थिचिएर आफूहरुलाई सानोतिनो चोटपटक लागेको समेत उनले बताएकी छन्।

उक्त पासोजस्तो इलेभेटरको बचाउ गर्दै नागरिक उड्डयन कार्यालयले विज्ञप्ति प्रकाशित गरेको छ।

नागरिक उड्डयन कार्यालयले उक्त घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै ती इलेभेटर यात्रुको सुविधाका लागि राखिएको उल्लेख गरेको छ।

ट्रली प्रयोग गर्नेहरुका लागि तीनवटा लिफ्ट राखिएको उल्लेख गरिए पनि ती तीनैवटा लिफ्टले सयौँ यात्रुहरुलाई एकैपटक धान्ननसक्ने देखिन्छ। ट्राभलेटर ट्रली प्रयोग नगर्ने यात्रुहरुका लागि भएको कार्यालयले बताए पनि सयौँ यात्रु ट्रली राखेर सोही ट्राभलेटरमार्फत यात्रा गर्न बाध्य हुन्छन्।

यद्यपि ती पासोजस्ता इलेभेटरको उल्टै बचाउ गर्दै नागरिक उड्डयन कार्यालयको विज्ञप्ति आएको छ।

माघ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्