माओवादीको मन्त्री नियुक्तिमा जनार्दन शर्मा हाबी

फाइल फोटो।

काठमाडौँ – माओवादीमा संघदेखि प्रदेशसम्मको मन्त्री नियुक्तिमा जनार्दन शर्मा हाबी भएका छन्।

मन्त्री बनेर अवसर पाउनेमा अधिकांश शर्मा निकट नेताहरु परेका हुन्। एमालेसँग भन्दा कांग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका शर्माले आफ्नो मान्यता भन्दा फरक गठबन्धन बन्दा पनि निकटस्थलाई अवसर दिलाउन सफल भएका हुन्।

माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछि दोस्रो तहका नेताहरुमा वर्षमान पुन र शर्मा खेमाबीच तीब्र प्रतिस्पर्धा छ।

संघमा सरकारमा सहभागी पाँचमन्त्री मध्ये तीन जना शर्मा निकटका नेताहरु हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीबाट सरकारमा ६ जना सहभागी छन्।

माओवादी स्रोतका अनुसार त्यसमध्ये तीनजना शर्मामा निकट नेताहरु हुन्। संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदिन किराती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी शर्मा पक्षका हुन्।

त्यस्तै प्रदेशहरुमा पनि आफ्नो पक्षमा रहेका नेताहरुलाई मन्त्री बनाउन शर्मा सफल भएका छन्। माओवादीबाट कर्णालीमा मुख्यमन्त्री बनेका राजकुमार शर्मा जनार्दन पक्षका हुन्। उनी शर्माको नातेदारसमेत पर्छन्।

त्यस्तै सुदुरपश्चिम प्रदेशमा बिना विभागीय मन्त्री रहेका माओवादी संसदीय दलका नेता खगराज भट्ट पनि शर्मा पक्षका हुन्। एमालेबाट अहिले मुख्यमन्त्री रहेका राजेन्द्र रावलपछि भट्टलाई सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने राजनीतिक सहमति छ।

यी बाहेक अरु नेताहरु र अरु प्रदेशमा पनि जनार्दन पक्षका नेताहरुले धमाधम मन्त्री बन्ने अवसर पाइरहेको माओवादी स्रोतको दाबी छ।

माघ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्