निर्विवादित घिमिरे सभामुख

फाइल तस्बिर

झापा – झापाको क्षेत्र नं २ झापाको करिब मध्य क्षेत्रमा पर्छ । त्यसमा पनि झापाको केन्द्र मानिएको बिर्तामोड यही क्षेत्रमा पर्छ। सँगै अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाका अधिकांश वडा पनि यही क्षेत्रमा पर्छ।

शिक्षा, स्वास्थ्य सेवाको हिसाबले पनि झापा २ अन्य क्षेत्रभन्दा धेरै माथि छ। तर अधिकांश यी क्षेत्रका संरचना र विकास निजीस्तरबाट विकसित भएका हुन्।

धेरै पछाडि नगइकन २०६४ सालको संविधान सभा निर्वाचनयताको मात्र पनि कुरा गर्दा यो क्षेत्रबाट निर्वाचित कसैले पनि राज्यको उच्च ओहोदा पाएनन्।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा २ बाट तत्कालीन नेकपा माओवादीका नेता गौरीशंकर खड्का निर्वाचित भए। उनी पनि संविधानसभा सदस्यमा सीमित भए।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शालीन नेताका रूपमा परिचय बनाएका नेपाली कांग्रेसका नेता सुधीरकुमार शिवाकोटी संविधानसभा सदस्यमा निर्वाचित भए। उनले पनि संविधानसभा सदस्यभन्दा अर्को कार्यकारी पद पाएनन्।

२०७४ सालको आम निर्वाचनमा नेकपा एमालेका नेता पवित्रा निरौला खरेल निर्वाचित भइन्। उनी संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति भइन्। तर कार्यकारी पद भने उनले पनि पाइनन्।

सँगैमा अन्य क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उपप्रधान तथा गृहमन्त्री भए।  कांग्रेसकै अर्का नेता केशवकुमार बुढाथोकी सामान्य प्रशासनमन्त्री भए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई पटक प्रधानमन्त्री नै भइसके।

अहिले पनि झापा ३ मा कांग्रेसकै नेता कृष्णप्रसाद सिटौलालाई हराएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री भए। अन्य क्षेत्रका सांसद कुनै न कुनै हिसाबले उच्च ओहोदामा पुगे। तर झापा २ बाट निर्वाचित पुग्न सकेका थिएनन्।

यस पटक भने झापा २ बाट निर्वाचित सांसद नेकपा एमालेका नेता देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख बनेका छन्। अहिले झापा २ का सर्वसाधारणले भन्दैछन्, ‘बल्ल झापा २ को नाम रह्यो । नत्र सांसद बनाएर पठायो ताली पड्काउन बाहेक केही भएन।’

व्यवहारका हिसाबले पनि घिमिरे अहिलेसम्म विवादित छैनन्। सभामुख भएपछि के प्रगति हुन्छ झापा २ मा त्यो समयले बताउने यहाँका सर्वसाधारणको धारणा छ। उनीहरू भन्छन्, ‘केही अनुभूत गर्न पाइएला कि!’

माघ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्