कोरोना संक्रमणमा निकै कमी आए पनि उन्मूलन भइसकेको छैन

विश्वमा कोरोनाको नयाँ–नयाँ भेरिएन्ट र सबभेरिएन्टको उत्पत्ति भइरहेको हालको अवस्थामा विश्वको समग्र कोरोना संक्रमणमा खासै वृद्धि भएको देखिँदैन। यद्यपि, विश्वका केही देशमा भने यस शृंखलाका अघिल्ला अंकमा उल्लेख गरिएजस्तै यसको आतंक जारी नै रहेको देखिन्छ।
यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।
यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि।यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्याउनु हो।
विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ।दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो छ।दक्षिण एसियाको पछिल्लो करिब एक महिना, २०२२ डिसेम्बर १३ देखि २०२३ जनवरी ११ (३० दिन)को कोरोना प्यान्डेमिक सम्बन्धि तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ।
पछिल्लो अवस्थामा दक्षिण एसियामा समग्र कोरोना संक्रमण निकै न्यून छ र औसतमा दैनिक करिब ३०० भन्दा कम संक्रमण देखिने गरेको छ। तर चित्र न. १ मा देखाइए जस्तै पछिल्लो करिब एक महिनाको दैनिक कोरोना संक्रमणको प्रबृत्ति हेर्ने हो भने दक्षिण एसियाको कुल दैनिक संक्रमण सामान्य तलमाथि बाहेक स्थिर देखिन्छ। यसरी दक्षिण एसियामा ४ महिनाभन्दा लामो समयदेखि दैनिक कोरोना संक्रमण र मृत्युमा निकै कमी आएको देखिन्छ।
त्यस्तै दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु निकै कम देखिन्छ, औसत दैनिक करिब ५ भन्दा कम।
नेपालको दैनिक नयाँ संक्रमण
सन् २०२३ जनुवरी ८ देखि १४ (बि.सं २०७९ पौष २४ देखि ३०) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, पुस ३० गते शनिबारसम्म, देशभरि जम्मा ३१ जना नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या १००१०५१ पुगेको छ।दुई र तीन हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या क्रमश २० र ३४ थियो।
त्यस्तै चित्र न. २ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ।गतहप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०.२६% देखि अधिकतम १.४% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.७७% रह्यो जुन दुई र तीन हप्ताअघि क्रमसः ०.७२% र १.५७% थियो।
गतहप्ता नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०२० पुगेको छ।
गत हप्ता देशभरि जम्मा ३३२३ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि २६८० थियो।
संक्षेपमा, पछिल्लो समय विश्वमा कोरोना संक्रमण समग्रमा कम हुँदै गएको छ भने कतिपय देशमा यसको आतंक अझै पनि जारी नै रहेको देखिन्छ।
दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमणमा भने निकै कमी आएको देखिन्छ र एक महिनाको संक्रमण प्रबृत्ति स्थिर जस्तै देखिन्छ। हालसम्म दक्षिण एसियामा कोरोनाको नयाँ भेरिएन्टको कारणले संक्रमणमा फेरि वृद्धि भएको या प्यान्डेमिकको नयाँ लहर आउन लागेको लक्षण तथ्यांकले देखाएको छैन।
नेपालमा गत हप्ता, बि.सं २०७९ पौष २४ देखि ३०, साप्ताहिक नया कोरोना संक्रमण केही साताको जस्तै निकै कम देखाएको छ र पछिल्लो समय संक्रमण प्रबृत्ति स्थिर नै देखिन्छ। कोरोना मृत्यु पनि शून्यप्रायः छ।
स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि साबधानीका कुरा कडासाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।
यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो।जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।