सत्ता गठबन्धनबाट उपसभामुखको उम्मेदवार रास्वपाकी सोविता गौतम

काठमाडौँ – सभामुखमा देवराज घिमिरे निर्वाचित भएसँगै संसद सचिवालयले उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

माघ ७ गते शनिबार दिउँसो १ बजे संसदमा मतदान हुने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले कार्यतालिका सार्वजनिक गरेका हुन्।

उपसभामुखको मनोनयनका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ। दर्ता हुन आएका नाम दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ।

सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ। एमालेका तर्फबाट घिमिरे सभामुख चयन भएपछि स्वतन्त्र पार्टीले उपसभामुख पाएको सत्ता गठबन्धनका एक शीर्ष नेताले देश सञ्चारलाई जानकारी दिए।

स्वतन्त्र पार्टीले साेबिता गौतमलाई उम्मेदवार बनाउने भएको छ। काठमाडौँ २ बाट निर्वाचित भएकी २७ वर्षीय सांसद गौतमलाई स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार बनाउने करिब निश्चित गरेको छ।

बिहीबार भएको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेले १६७ मत पाएकाले उनको पक्षमा पनि उक्त मत कायम रहने देखिन्छ।

उनी पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्।

संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ।  गौतमलाई उम्मेदवार बनाउन संविधानको उक्त व्यवस्थाको समेत सम्बोधन हुनेछ।

कांग्रेस र एकीकृत समाजवादीले उपसभामुखमा कसलाई उठाउने भन्ने निक्र्योल गरिसकेका छैनन्।

माघ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्