संसद पुगेका फरार सांसद कोइरी मतदान नगरी फर्के

एमालेका सांसद् लक्ष्मी महतो कुइरी। फाइल तस्बिर

काठमाडौँ – सभामुखको चुनावमा भाग लिन पुगेका एमाले सांसद लक्ष्मी महतो कोइरी मतदान नै नगरी संसदबाट बाहिरिएका छन्।

कांग्रेस सांसद रामहरि खतिवडाले उनको उपस्थितिबारे गृहमन्त्री रविलामिछाने बोलिरहेका बेला प्रश्न गरे लगत्तै कोइरीले संसद भवन छाडेका हुन्। एमालेका एक सांसदका अनुसार कोइरी सत्ता पक्ष बस्ने बेञ्चको सातौँ लहरमा बसेका थिए।

एमालेबाट उम्मेदवार भएर महोत्तरी १ बाट निर्वाचित भएका कोइरीमाथि २०७२ सालमा संधिवान जारी हुँदा मधेसमा भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीलाई एम्बुलेन्सबाट निकालेर हत्या गरेको आरोप लागेको छ।

महतोत्तरी जिल्ला अदालतबाट धरौटीमा छुटेका महतोलाई उच्च अदालतले थुनामै राख्न आदेश दिएको छ। तर उनी पक्राउ परेका छैनन्। उनी प्रहरीको फरार सूचीमा छन्।

गृहमन्त्री लामिछानेले उनलाई पक्राउ गर्न निर्देशन दिएको पटक पटक बताए पनि उनी सत्ताको आडमा प्रहरी नियन्त्रणमा छैनन्। बिहीबार सांसद खतिवडाले फरार सूचीमा रहेका एमाले सांसद कोइरीबारे प्रश्न उठेपछि गृहमन्त्री लामिछानेले सरकारले विधि पद्धतिलाई अनुसार गर्ने बताएका छन्।

उनले भने, ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर जाँदैन। त्यसको एउटा प्रक्रिया छ। कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु।’

महतोसहित अरु पाँच जना सांसद पनि सभामुखको मतदानमा अनुपस्थित भए। २७५ सदस्यीय संसदमा २६८ जनाले मतदानमा भाग लिँदा सभामुखमा निर्वाचित भएका देवराज घिमिरेको पक्षमा १६७ र विपक्षमा १०० मत खस्यो।

नेमकिपाका प्रेम सुवालले कतै पनि मत दिएनन्।

मतदानमा अनुपस्थित हुनेमा सांसदहरु वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन र सपनाराज भण्डारी छन्। जेष्ठ सदस्य पशुपति शमशेर राणाले बैठकको अध्यक्षता गरेकाले कतै पनि मत दिएनन्।

माघ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्