कम्बोडियामा ज्यान गुमाएका निराकारको आज कनकाई माइमा अन्त्येष्टि गरिँदै

झापा – कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोड १ का निराकार पाण्डेको शनिबार कनकाई माइमा अन्त्येष्टि गरिँदैछ ।

शुक्रबार काठमाडौँ ल्याइएको उनको शव शनिबार बिहान झापा ल्याएर कनकाई माइमा अन्त्येष्टि गरिन लागिएको हो ।

गत पुस १४ गते कम्बोडियामा निधन भएका पाण्डेको शव २४ दिनपछि गृहजिल्ला झापा ल्याइएको हो ।

बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो ।

गत पुस २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निराकारका परिवारका सदस्यहरूले भेट गरेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरेका थिए ।

कानुनी प्रक्रिया पूरा गरेर निराकारको शव नेपाल ल्याउनमा ढिलाइ भएको थियो ।

माघ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्