अर्थतन्त्र सुधार्न सबैको साथ आवश्यक छः अर्थमन्त्री पौडेल

विष्णु पौडेल। फाइल तस्बिर।

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन्।

शनिबार कृषि विकास बैंकको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतीको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामर्थ्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताएका हुन्।

उनले अर्थ मन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन,आर्थिक मितव्ययिता,खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको बताए। अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गरे।

उनले भने,‘अहिले अर्थमन्त्रीको हैसियतमा मितव्ययिता, खर्च कटौती, सुविधा कटौतीका निम्ति सिंगो राष्ट्रलाई आग्रह गर्नुपर्ने ठाउँमा छु। हामी सबैलाई थाहा छ, मुलुकको आर्थिक सामर्थ्य कहाँ आइपुगेको छ। आजका मितिसम्म आइपुग्दा पनि राजश्व परिचालनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको मात्रै होइन, गत वर्ष यही समयमा जति राजश्व परिचालन गरेका थियौँ,  त्योभन्दा पनि पछाडि छौँ।’

साधरण खर्च लिमिटभन्दा माथि भएको भन्दै पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको उनको भनाइ थियो। उनले बजेटको मध्यावधिक समीक्षा गर्ने बिन्दुमा आइपुग्दासमेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु अर्थतन्त्र सुधारको लागि चुनौती देखिएको बताए।

माघ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्