कम्बोडिया ज्यान गुमाएका निराकारलाई हजारौंको भीडले दियो श्रद्धाञ्जलि

झापा – कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोड १ का निराकार पाण्डेको शनिवार कनकाई माइमा अन्त्येष्टि गरिएको छ।

शुक्रबार काठमाडौं ल्याइएको उनको शव शनिवार बिहान झापा ल्याएर कनकाई माइमा अन्त्येष्टि गरिएको हो । निराकारको शवलाई उनका बुवा अग्नि पाण्डेले दागबत्ती दिएका थिए।

निराकारको अन्तिम सँस्कारमा हजारौं सर्वसाधारणले श्रद्धाञ्जली व्यक्त गरेका थिए। पुस १४ गते कम्बोडियामा निधन भएका पाण्डेको शव २४ दिनपछि गृहजिल्ला झापा ल्याइएको हो।

बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो। गत पुस २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निराकारका परिवारका सदस्यहरूले भेट गरेका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरेका थिए। कानुनी प्रक्रिया पूरा गरेर निराकारको शव नेपाल ल्याउनमा ढिलाइ भएको थियो।

माघ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्