रोटरी क्लबद्वारा मनमोहन अस्पताललाई ‘मेडिकल उकरण’ प्रदान

स्वास्थ्यमन्त्री पदम गिरी। फाइल तस्बिर।

काठमाडाैँ – रोटरी क्लब अफ रुद्रमतीले दक्षिणकाली नगरपालिका, फर्पिङमा अवस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई ‘मेडिकल उकरण’ प्रदान गरेको छ। दक्षिणकाली नगरपालिका–६ फर्पिङमा रहेको अस्पतालमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अस्पताल सञ्चालक समितिका अध्यक्ष पूर्णबहादुर शाहीलाई ३४ प्रकारका मेडिकल उपकरण प्रदान गरे।

द रोटरी फाउन्डेसन, इम्याजिङ रोटरी र स्मिथभिल्ले मेजोरी रोटरी क्लब लगायतले आज मेडिकल बेड (२० वटा), थर्मामिटर (५० वटा), एक्स–रे भ्यू बक्स (पाँचवटा) र युनिनरी क्थेटर (८० वटा) लगायत ३४ प्रकारका उपकरण हस्तारण गरेको हो।

सोही अवसरमा मन्त्री गिरीले दूर्गम र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहुँचमा स्वास्थ्य सेवा पु¥याउँदै समग्र नेपालको स्वास्थ्य सेवालाई गुणस्तरी र प्रभावकारी बनाउने सरकारको मुख्य योजना रहेको बताए। उनले भने, “अहिले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारण जनताको पहुँचभन्दा धेरै टाढा छ, देशको स्वास्थ्य क्षेत्र नाजुक छ, यसबारेमा सरकार सचेत छ, स्वास्थ्य क्षेत्रको सुधार मेरो पहिलो प्राथमिकता भएको छ।”

मन्त्री गिरीले अब सरकारले छिट्टै स्वास्थ्य बीमालाई निरन्तरता दिने र बीमामार्फत स्वास्थ्य क्षेत्रलाई निःशुल्क बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले जीर्ण अवस्थामा रहेको कीर्तिपुर, दक्षिणकाली हुँदै हेटौँडा जोड्ने सडक पुनर्निर्माणका निम्ति पहल गर्ने आश्वासनसमेत दिए।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले दक्षिणकाली हुँदै हेटौँडा जाने बाटो निर्माणका लागि पहल गर्न मन्त्रीसमक्ष आग्रह गरे। उनले दक्षिणकाली नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकास गर्ने योजना सुनाउँदै सहयोगका निम्ति सङ्घ र प्रदेश सरकारसँग अपिल गरे।

रोटरी डिस्ट्रिकका गभर्नर जितेन्द्रबहादुर राजभण्डारी र सोही डिस्ट्रिकका पूर्वगर्भनर दिलेन्द्रराज श्रेष्ठले रोटरी क्लबले खासगरी शिक्षा, स्वास्थ्य, वातारण, शान्ति तथा द्वन्द्व र बालबालिकाको क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको बताए।

अस्पताल सञ्चालक समितिका अध्यक्ष शाहीले स्वास्थ्य बीमालाई निरन्तरता दिनाका साथै आफ्नो अस्पतालले सुरु गर्न लागेको ‘डाइलासिस’ सेवा सञ्चालनका निम्ति आर्थिक सहयोग गर्न अनुरोध गरे।

रोटरी क्लब अफ रुद्रमतीका अध्यक्ष किशोर त्रिपाठीले अहिले क्लबले मेडिकल उपकरण मात्रै सहयोग गरे पनि आगामी दिनमा अन्य विविध सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सोही अवसरमा मन्त्री गिरीले अस्पतालको निरीक्षण पनि गरेका थिए।

माघ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्