दीप हाईस्कुलका विद्यार्थीले गरे ‘समाधान के ?’ नामक सडक नाटक मञ्चन

काठमाडौँ – काठमाडौँको भोटेबहालस्थित दीप हाईस्कुलका विद्यार्थीले उपत्यकाका केही ठाउँमा ‘समाधान के ?’ नामक सडक नाटक मञ्चन गरेका छन्।

उक्त नाटकमा हाल विद्यार्थीमा देखिएका विभिन्न समस्या जस्तैः मोबाइलमा झुम्मिनु, कुलतमा फस्नु, पढाइप्रति चासो नराख्नुलगायत समस्या बढ्दै गइरहेकाले यसको समाधान के त भनेर दर्शकसँग सोधिएको छ।

नाटकमा देखाएअनुसार अहिलेका धेरै अभिभावकको व्यस्त जीवनशैलीले बालबालिकालाई समय दिन पाइरहेका हुँदैनन्।
जसकारण बालबालिकामा एक्लोपन अनुभूति हुन गई उल्लिखित गलत क्रियाकलापमा फस्ने गरेको देखाइएको छ। दीप हाईस्कुलको आयोजनामा मञ्चन भएको उक्त नाटकको लेखन तथा निर्देशन पुष्पराज अवस्थीले गरेका थिए।

नाटक वसन्तपुर डबली, लगन चोक, जैसीदेवल चोकमा मञ्चन भएको थियो भने आगामी दिनमा फेरि सोही नाटकलाई अन्य स्थानमा पनि मञ्चन गरिनेछ।

‘यसरी समुदायमा नाटक मञ्चन गर्दा एकातिर बालबालिकालाई नाटकको अभ्यास हुन्छ भने अर्कोतिर समुदायमा सन्देश पनि प्रवाह हुन्छ’, अवस्थीले भने। पढाइका साथै विद्यार्थीको चाहना बुझेर यस स्कुलले विभिन्न कला तथा साहित्यका कक्षा पनि सञ्चालनमा ल्याएको छ।

गत प्रतिनिधि र प्रदेश सभाको चुनावमा पनि यस विद्यालयका विद्यार्थीले आफ्ना छोराछोरीको भविष्यका लागि भए पनि राम्रो उम्मेदवारलाई भोट दिऔँ भन्दै नाटक ‘हाम्रो भविष्य तपाईंको भोटमा’ नामक नाटक मञ्चन गरेको थियो।

‘सबै विद्यार्थीमा पढाइका अलावा फरक–फरक क्षेत्रमा रुचि हुने गर्छ। सोही रुचिलाई बुझेर हामी उहाँहरूलाई उहाँहरूकै रुचिअनुसारको अतिरिक्त कक्षामा सहभागी गराउँछाँै र फलस्वरूप नाटकमा रुचि भएका विद्यार्थीद्वारा यो नाटक निर्माण भएको हो,’ स्कुलका प्रिन्सिपल शैलेश डंगोलले भने।

यस नाटकमा प्रभा बुढा, स्नेहा यादव, रोमन सुन्दास, हिमान्सु गिरी, श्रीजल मानन्धर, अभय शर्मा, मटिना महर्जन, रोज देउला, सजना ढकाल, रितिका खड्का, केन्द्रिका खड्का, एन्जल शाही, रोशनी पाण्डेय, सुपरीया पटेल, श्रीना तामाङ, श्रृष्टि जैसवाल, निधि कु. शाह, रिया बेगा, अबिना खड्का, दिलिप सिलवाल, दिप्सन कुँवर, तपस्या शाक्यलगायत २२ जना कलाकारले अभिनय गरेका थिए भने नाटकको व्यवस्थापन अर्पणा बज्राचार्य र सानुमैंया महर्जन गरेका थिए।

साथै, नाटकको प्रप्स व्यवस्थापन सुधन लामिछानेले गरेका थिए। त्यस्तै, ममता खड्का र श्रृष्टि शाहले नाटकका लागि वेशभूषा र हेमा न्यौपानेले श्रृंगारको व्यवस्थापन गरेका थिए।

माघ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्