गुरागाँईले सार्वजानिक गरे ‘जङ्कसन पिपलबोट’

पत्रकार तथा लेखक प्रकाश गुरागाँईले आफ्नो पुस्तक ‘जङ्कसन पिपलबोट’ सार्वजानिक गरेका छन्। शनिबार थापागाउँ स्थित मण्डला थिएटरमा एक कार्यक्रमबीच गुरागाँईले आफ्नो पहिलो गैर आख्यान सार्वजानिक गरेका हुन्। यसअघि उनले ‘खुट्टामा श्रीपेच’ कविता संग्रह प्रकाशित गरेका छन्। 

पत्रकार लक्ष्मण कार्कीले सहजीकरण गरेको लोकार्पण कार्यक्रममा पुस्तकका बारेमा कविहरू लक्ष्मी माली र पुरुषोत्तम सुवेदी तथा मानवशास्त्री सुरेश ढकालले चर्चा गरेका थिए। लेखक गुरागाँईले लामो समयको अध्ययन, अनुसन्धान पछि  पुस्तक तयार भएको गुरागाईँले बताए।

पुस्तकमा तत्कालीन नयाँ सडक (अहिले न्युरोड) जुद्ध सडकमा हुने गरेको राजनीतिक, साहित्यिक जमघट तथा तत्कालीन आन्दोलन र आयामहरू बारेमा वस्तुपरक र तथ्यपरक उठान गरिएको चर्चा विमोचनमा गरिएको थियो। फिनिक्सले प्रकाशन गरेको पुस्तकलाई लेखक तथा पूर्व सांसद नारायण ढकालले टिप्पणी गर्दै पुस्तक साहित्य र इतिहासको एक दस्तावेजका रुपमा रहने बताए। उनले भने  ‘हाम्रो इतिहास र साहित्यको एक अनुपम दृष्टान्तका रुपमा यो पुस्तक रहने छ।’

पत्रकारितामा सक्रिय रहने क्रममा साहित्यिक वृत्तबाट पटकपटक लेखिएको पिपलबोटका बारेमा लेख तथा सुनेका किस्साले आफूलाई किताब लेख्न प्रेरित गरेको गुरागाँईले बताए। उनले भने ‘पिपलबोट र यससँग सम्बन्धित इतिहास खोतल्न मलाई पत्रकारिताका क्रममा लेखिएका लेख र किस्साहरूले प्रेरित गर्‍यो।’ उनले राजामहाराजा नभई आममानिसको आँखाले देखेको इतिहासलाई पुस्तकमार्फत प्रस्तुत गर्ने जमर्को गरेको बताए।

 

माघ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्