पाणिनीय व्याकरण र कौण्डिन्न्यायन शिक्षा

विषयप्रवेश
वेदका छ ओटा अङ्ग छन्— १.शिक्षा, २.कल्प, ३.व्याकरण, ४.निरुक्त, ५.छन्द र ६.ज्योतिष । वेदको स्वरूप, अर्थ, प्रयोग र रहस्य बुझाउन ऋषि–मुनिहरूले वेदाङ्गहरूको अर्थात् वेदका अङ्गहरूको रचना गर्नुभएको हो । यी छओटा शास्त्रलाई षडङ्ग पनि भन्दछन् । वेदको संरक्षण गर्न र वास्तविक अर्थ बुझाउन यी शास्त्रको ठूलो भूमिका रहेको हुनाले यिनको गम्भीर रूपमा अध्ययन–मनन गरेपछि मात्र वेदको अर्थ र तात्पर्य बुझ्न सक्ने आधार तयार हुन्छ । यहाँ यस लेखका विषयसित सम्बद्ध शिक्षा र व्याकरण यी दुई अङ्गको विशेष रूपमा चर्चा गर्न खोजिएको छ । त्योभन्दा पहिला अन्य चार अङ्गको सङ्क्षिप्त रूपमा उल्लेख गरिन्छ ।

कल्प, निरुक्त, छन्द र ज्योतिष
वेदमा विधान गरिएका कर्महरूको अर्थात् वैदिक यज्ञहरूको र विवाह–व्रतबन्धादि संस्कारहरूको कर्मकाण्डीय प्रयोगलाई व्यवस्थित रूपमा देखाउने शास्त्र कल्प वा कल्पशास्त्र भनिन्छ । श्रौतसूत्रहरू र गृह्यसूत्रहरू कल्पशास्त्रका मूल ग्रन्थ हुन् ।

व्याकरणले व्युत्पत्ति देखाउन नसकेका पदहरूको र देवतावाचक पदहरूको समेत निर्वचन गर्ने शास्त्र निरुक्त भनिन्छ । निरुक्त निर्वचनविज्ञान, भाषाविज्ञान र शब्दार्थविज्ञानको प्राचीनतम ग्रन्थ हो । अहिले यास्क मुनिद्वारा रचिएको निरुक्त उपलब्ध छ ।

गलाको स्वरको परिमाणविशेषलाई छन्द भन्दछन् । गायत्री, उष्णिक्, अनुष्टुप्, बृहती, पङ्क्ति, त्रिष्टुप्, जगती इत्यादि छन्दहरू वैदिक ऋचामा प्रयुक्त देखिन्छन् । यिनै छन्दहरूको प्रतिपादन गर्ने शास्त्र छन्द वा छन्दःशास्त्र भनिन्छ । पिङ्गलको छन्दस्सूत्र वेदाङ्गका रूपमा प्रसिद्ध छ ।

सूर्यको र चन्द्रको गतिको तथा नक्षत्र, तिथि, पक्ष, मास, ऋतु, अयन, संवत्सर (वर्ष), युग इत्यादि कालविशेषको निरूपण गर्ने शास्त्र ज्योतिष भनिन्छ । लगध मुनिका आर्च र याजुष ज्योतिष वेदाङ्ग हुन् ।

शिक्षा
वर्ण, स्वर, मात्रा, बल, साम र सन्तान अर्थात् सन्धि यी छओटा विषयहरूको व्याख्या शिक्षाशास्त्रमा गरिएको हुन्छ । शिक्षाशास्त्रअनुसार अ आ इ ई इत्यादिलाई र क् ख् ग् इत्यादिलाई वर्ण भन्दछन् । अकारादिको उदात्त, अनुदात्त वा स्वरित रूपमा गरिने उच्चारणका प्रकारलाई स्वर भन्दछन् । अकारादि स्वरको परिमाणविशेषलाई मात्रा भन्दछन् । त्यसैले ह्रस्व, दीर्घ तथा प्लुत स्वरलाई क्रमशः एकमात्र, द्विमात्र र त्रिमात्र भन्ने गरिन्छ । वर्णहरूको उच्चारण गर्ने स्थान र प्रयत्नलाई बल भन्दछन् । अत्यन्त छिटो वा अत्यन्त ढिलो गरेर गरिने उच्चारणका दोषले रहित तथा माधुर्य, पदच्छेद, लय इत्यादि उच्चारणका गुणले सहित उच्चारणलाई साम भन्दछन् । दुई वर्णका बिचका सन्धिलाई अर्थात् वर्णको लोप आगम विकार वा प्रकृतिभाव हुने योगलाई संहिता वा सन्तान भन्दछन् । यी विषयहरूको उपदेशद्वारा मुख्यतया वेदको शुद्ध उच्चारण गर्न सिकाउने उच्चारणशास्त्र नै शिक्षा वा शिक्षाशास्त्र हो ।

वेदका विभिन्न शाखासित सम्बन्ध राख्ने शिक्षाग्रन्थहरूमा ऋग्वेदप्रातिशाख्य, तैत्तिरीयप्रातिशाख्य, शुक्लयजुर्वेदप्रातिशाख्य इत्यादि प्रातिशाख्य र याज्ञवल्क्यशिक्षा, पाणिनीयशिक्षा, नारदीयशिक्षा इत्यादि धेरै शिक्षाग्रन्थ पनि उपलब्ध छन् । पाश्चात्त्यहरूले संस्कृत शिक्षाशास्त्रको अध्ययन गरेपछि त्यसैका आधारमा आधुनिक ध्वनिविज्ञानको विकास गरेको तथ्य देखिन्छ। यो कुरा डब्ल्यू.एस्.यालन्‌ले फनेटिक्स् इन् एन्शण्ट् इण्डिया (लण्डन्, सन् १९५३)भन्ने ग्रन्थको “दि इण्डियन् इन्फ्लुअन्स् अन् वेष्टर्न् फनेटिक्स्” भन्ने प्रकरणमा लेखेका छन् ।

व्याकरण
पदहरूमा प्रकृति–प्रत्ययको कल्पना गरेर तिनमा वर्णहरूको लोप, आगम, विकार र प्रकृतिभावको प्रदर्शनद्वारा पदस्वरूप तथा त्यसको अर्थसित सम्बन्ध इत्यादिको निरूपण गरी वाक्यको र वाक्यार्थको सम्बन्धको व्याख्या गर्ने शास्त्र व्याकरण भनिन्छ (वैदिक धर्म मूल रूपमा, द्वि.सं. २०६२, पृ.१६०) । संस्कृत व्याकरणमा पाणिनिको व्याकरण अर्थात् अष्टाध्यायी बढी प्रचलित र वेदाङ्गका रूपमा मान्य छ । यसमा आठ अध्याय, प्रत्येक अध्यायमा चार पाउ गरेर जम्मा ३२ पाउ र तिनमा जम्माजम्मी ४००० भन्दा केही कम सूत्रहरू छन् । कात्यायनको वार्त्तिकद्वारा र पतञ्जलिको भाष्यद्वारा अष्टाध्यायीको विस्तृत र समालोचनात्मक व्याख्या भएपछि यसको बढी महत्त्व, प्रामाणिकता र प्रचार भएको बुझिन्छ । संसारका विभिन्न भाषाका व्याकरणहरूमध्ये संस्कृत भाषाको पाणिनीय व्याकरण अत्यन्त वैज्ञानिक र मानवीय उच्चतम मस्तिष्कको प्रतिफल भएको कुरा संसारभरिका भाषाशास्त्रीहरूले मानेकोे देखिन्छ । तथापि यस व्याकरणको समीक्षा र समालोचना अझै पनि भैरहेकै छ ।

पराशरपुराणमा सूत्र, वात्र्तिक र भाष्यका परिभाषाहरू यसप्रकार दिइएका छन्:

अल्पाक्षरमसन्दिग्धं सारवद् विश्वतोमुखम् ।
अस्तोभमनवद्यं च सूत्रं सूत्रविदो विदुः।।—१८।१३–१४।

अर्थ— अत्यन्त थोरै शब्दमा लेखिएकोे, सन्देह नहुने गरेर लेखिएको, अत्यावश्यक सारपूर्ण कुरा मात्र लेखिएको, सबैतिर मिल्ने गरेर लेखिएको, अनावश्यक शब्द नराखीकन लेखिएको र कुनै दोष नभएकोरचनालाई सूत्र भन्दछन् ।

उक्ताऽनुक्तदुरुक्तानां चिन्ता यत्र प्रवर्तते ।
तं ग्रन्थं वात्र्तिकं प्राहुर् वात्र्तिकज्ञा मनीषिणः ।।—१८।१९–२० ।

अर्थ— सूत्रमा भनिएका, नभनिएका र गलत प्रकारले भनिएका कुराहरूको विचार जहाँ गरिन्छ, त्यस ग्रन्थलाई वार्त्तिकज्ञ विद्वान्‌हरूले वार्त्तिक भनेका छन् ।

सूत्रार्थो वर्णयते यत्र वाक्यैः सूत्रानुकारिभिः ।
स्वपदानि च वण्र्यन्ते भाष्यं भाष्यविदो विदुः ।।—१८।१५–१६ ।

अर्थ— सूत्रकै अनुकरण गरेर लेखिएका वाक्यहरूले सूत्रको अर्थ जहाँ वर्णन गरिन्छ र सूत्रमा भएका पदहरूको समेत व्याख्या जहाँ गरिन्छ त्यस ग्रन्थलाई भाष्यका विज्ञ विद्वान्‌हरूले भाष्य भनेर जान्दछन् ।

कात्यायनका वार्त्तिकहरूले पाणिनिका सूत्रमा रहेका कमीलाई पूरा गर्ने, नमिल्दा कुरालाई मिलाउने र नचाइने सूत्रलाई यो सूत्र त चाहिँदैन भनेर स्पष्ट पार्ने इत्यादि काम गरेका छन् । पतञ्जलिको भाष्यले विशेष विचारणीय सूत्रहरूको र वात्र्तिकहरूको व्याख्या र समीक्षा गरेको छ । पाणिनिले ठिकै भनेकाले कात्यायनको वार्त्तिक यहाँ अनावश्यक हो, सूत्र र वार्त्तिक दुवैबाट पनि यहाँ यो कुरा अझै स्पष्ट हुँदैन इत्यादि भनेर भाष्यले सूत्र र वार्त्तिकहरूको विभिन्न दृष्टिकोणले विवेचना गरेको छ । त्यसपछिका विद्वान्‌हरूले सूत्र, वार्त्तिक र भाष्य यी तीनओटै ग्रन्थको गम्भीर रूपमा अध्ययन गरेर तिनको समीक्षा गरेको र नयाँ विवेचना गरेको खासै देखिँदैन । यसका लागि शिक्षाशास्त्र, व्याकरण र वेदको विशेष अध्ययन आवश्यक हुन्छ । आजभोलिको अध्ययन एकाङ्गी छ । वेद पढ्नेले व्याकरण पढ्दैनन्, व्याकरण पढ्नेले वेद पढ्दैनन्, कदाचित् यी दुवै शास्त्र पढिहाले भने पनि शिक्षाशास्त्र पढ्दैनन् । चारै वेदका र सबै वेदाङ्गका ग्रन्थहरूको सर्वाङ्गीण अध्ययन गरेर वेद–वेदाङ्गको सम्बन्धको आकलन गर्न सक्ने तथा तिनका व्याख्याको समीक्षा गर्न सक्ने विद्वान् त भारतवर्षभरि नै पछिपछि कोही पनि नभएको बुझिन्छ ।

अत्यन्त थोरै शब्दमा लेखिएकोे, सन्देह नहुने गरेर लेखिएको, अत्यावश्यक सारपूर्ण कुरा मात्र लेखिएको, सबैतिर मिल्ने गरेर लेखिएको, अनावश्यक शब्द नराखीकन लेखिएको र कुनै दोष नभएको रचनालाई सूत्र भन्दछन् ।

यस्ता परिस्थितिमा छओटै वेदाङ्गहरूको अध्ययन गरेर तिनको सहायताले वेदको अर्थ, प्रयोग र रहस्य बुझ्नका निम्ति हाम्रा पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायन १९९७–२०७४) लाई दैवसंयोग प्रेरणा मिल्यो । औपचारिक शिक्षाका रूपमा आधुनिक विषयहरूको समेत अध्ययन गरिसकेपछि वेद–वेदाङ्गहरूको अध्ययनमा उहाँ एकोहोरिनुभयो । विलक्षण प्रतिभाले सम्पन्न उहाँमा जे विषय पढ्दा पनि गहिरिएर राम्ररी बुझेर मात्र पढ्ने बानी विद्यार्थीकालदेखि नै परेको थियो । यही गुणले कालान्तरमा उहाँलाई भारतवर्षकै अद्वितीय विद्वान् हुन सम्भव बनायो । व्यक्तिगत रूपमै थुप्रै पुस्तकहरूको सङ्ग्रह उहाँले गर्नुभयो र धेरैजसो ग्रन्थका महत्त्वपूर्ण स्थलमा चिनो लगाएर आद्योपान्त अध्ययन गर्नुभयो, टिपोट बनाउनुभयो । त्यसबाट हामीले ती ग्रन्थका विशेष कुरा सजिलोसित पढ्न–बुझ्न पाइएको पनि छ । उहाँले विश्वविद्यालयमा अध्यापन गरेर जीविका चलाउनुभयो । नाना प्रपञ्चमा नलागीकन रातदिन निरन्तर लेखपढमा मात्र लाग्न सक्ने धैर्य र विद्याप्रतिको निष्ठा उहाँमा थियो । मनोरञ्जनका निम्ति छुट्टै केही गर्नुपर्थेन, बिना अवरोध लेखपढ गर्न पाउँदा नै मनोरञ्जन हुन्थ्यो । उहाँ “गहिरो अध्ययन गर्दै जाँदा अरूका ग्रन्थमा दोष, कमी र त्रुटि देखिँदै जाँदो रहेछ, अनि तिनमा संशोधन र परिष्कार गर्न मनलाग्दो रहेछ” भन्नुहुन्थ्यो । त्यसैले सबै वेदाङ्गका ग्रन्थलाई परिष्कृत बनाउने, पुनः सम्पादन र व्याख्या गर्ने तथा आवश्यकताअनुसार नयाँ ग्रन्थ लेख्ने महत्त्वाकाङ्क्षी योजनाको सङ्कल्प गरेरअगाडि बढ्नुभयो । यस सिलसिलामा पाणिनि, कात्यायन र पतञ्जलिका ग्रन्थहरूमा रहेका कमीकमजोरीलाई पनि केलाउनुभयो । उहाँका कौण्डिन्न्यायन शिक्क्षामा अन्य प्राचीन तथा अर्वाचीन धेरै वैयाकरणहरूका र प्राच्य–पाश्चात्त्य शिक्षाशास्त्रीहरूका ग्रन्थमा रहेका त्रुटिहरूको समीक्षा पनि गरिएको छ । यस्ता कुराको अध्ययन, मनन, आकलन र समीक्षा गर्न सक्ने विद्वान् अहिले भारतवर्षभरिमै दुर्लभ छन् । केही विद्वान्‌ले उहाँका ग्रन्थमा रहेका विशेषताबाट आफू प्रभावित भएको कुरासम्म बताएका छन् । पहिलो वेदाङ्ग शिक्षामा उहाँले धेरै काम गर्नुभयो । संस्कृतमा कौण्डिन्न्यायन शिक्क्षा  (२०४९) र पाणिनीयशिक्षा तथा नारदीयशिक्षाका व्याख्या (२०५४, २०५८), नेपालीमा नेपाली वर्णोच्चारण शिक्षा (२०३१) प्रकाशित छन् । भारतबाट पनि उहाँका थुप्रै ग्रन्थ प्रकाशित भएका छन् ।

कौण्डिन्न्यायन शिक्क्षा
महाशिक्षा पनि भनिने चारायणीयशिक्षामा ३३७ श्लोक मात्र छन् । तर कौण्डिन्न्यायन शिक्क्षामा मूल रूपमा ११५८ श्लोक छन् । विवरण, स्पष्टीकरण र विवेचनाका रूपमा ती श्लोकहरूको व्याख्या गर्दा ऋग्वेदप्रातिशाख्यादि उपलब्ध सम्पूर्ण प्रातिशाख्यहरूबाट प्रमाणहरू उद्धृत गरिएका छन् । छापिएका र नछापिएका सम्पूर्ण संस्कृत शिक्षाग्रन्थहरूको पनि आलोडन गरी विषयहरूको स्पष्टीकरण गरिएको छ । साथै आधुनिक प्राच्य–पाश्चात्त्य भाषाशास्त्रीहरूका पुस्तकहरूको पनि परीक्षण गरी तिनका कतिपय त्रुटिपूर्ण प्रतिपादनहरूको समीक्षा गरेर युक्तियुक्त सिद्धान्त स्थापित पनि गरिएको छ ।

उपलब्ध प्रातिशाख्यहरूको तथा संस्कृत शिक्षाग्रन्थहरूको परिचयका साथै संक्षिप्त इतिहास समेत यस ग्रन्थमा देखाइएको छ । नौ अध्यायमा विभाजित यस ग्रन्थको उपक्रमप्रकरणमा शिक्षाशास्त्रको परिभाषा, प्रयोजन, अधिकारी, वेदादिशास्त्रको शिक्षणविधि, विद्यावृद्धिको उपाय, विद्वान्को कर्तव्य आदि विषयको चर्चा छ । त्यसपछि शिक्षाशास्त्रका मुख्य विषय अकारादि वर्ण, उदात्तादि स्वर (याक्सेन्ट्), ह्रस्वदीर्घादि मात्रा, स्थान–करण–प्रयत्न, उच्चारणगत गुणदोष, संहिता (सन्धि) यी विषयहरूको विस्तृत र विवेचनात्मक निरूपण गरिएको छ । संस्कृत वाङ्मयमा शिक्षाशास्त्रका सम्पूर्ण विषयहरू समेटिएको र विवेचनात्मक प्रतिपादन गरिएको योबाहेक अरू कुनै पनि ग्रन्थ उपलब्ध छैन ।

यस ग्रन्थमा ऋकार र लृकारको स्वरूपको स्पष्ट तथा प्रामाणिक विवेचन गरी साङ्गवेद विद्यालय रामघाट वाराणसीका पण्डितहरूले र पुनाको भण्डारकर प्राच्यविद्या संशोधन मन्दिरका पाणिनीयसूत्रपाठादिका शब्दकोषले र महाभाष्य शब्दकोषले फैलाएका भ्रमहरूको निराकरण गरिएको छ । साथै ऋकार र लृकारका लागि देवनागरी लिपिमालामा युक्तियुक्त लिपिको खाँचो देखाई त्यो खाँचो टार्न नयाँ लिपि यस्तो हुनु पर्छ भन्ने सुझाव पनि प्रस्तुत गरिएको छ । त्यसै गरी ए–ओ–ऐ–औ–का विषयमा फ्र्याङ्क्लिन् एजर्टन् आदि पाश्चात्य अनुसन्धाताहरूले, चवर्गको पञ्चम वर्णकाअर्थात् ञकारका र जकार–ञकार–संयोगका (ज्ञ–का) विषयमा जयपुर–महाराजका पण्डितसभाका प्रमुख महामहोपाध्याय विद्यावाचस्पति मधुसूदन ओझाले र आधुनिक कतिपय भाषाशास्त्रीहरूले, यम–संज्ञाका निर्वचनमा डब्ल्यू.डि.ह्विनि, सिद्धेश्वर वर्मा, डब्ल्यू.एस्.यालेन्, विधाता मिश्र, काशिनाथ वासुदेव अभ्यङ्कर इत्यादिले, तथा उदात्त अनुदात्त र स्वरित स्वरका विषयमा अष्टाध्यायीका व्याख्याता काशिकाकार तथा सिद्धान्तकौमुदीका रचयिता भट्टोजिदीक्षितले गरेका त्रुटिहरूको निराकरण यहाँ गरिएको छ ।

वैदिक वर्ण यमका उदाहरणमा सिद्धान्तकौमुदीमा रहेका त्रुटिहरूको निर्देश गर्नुका साथै यमवर्णका स्वरूप र सङ्ख्याका विषयमा मतमतान्तरहरूको परीक्षा गरी सुस्पष्ट निष्कर्ष समेत निकालिएको छ । सिद्धान्तकौमुदीमा यमको उदाहरणमा “चख्‌ख्नतु:” दिइएको छ, “चक्ख्नतु:” हुनुपर्ने हो । यसको संशोधन त्यसका व्याख्याता कसैले पनि गरेका छैनन् । आधुनिक संस्कृतज्ञहरूले चर्चा गर्न नसकेका अभिनिहित वर्णहरूको ऋग्वेदप्रातिशाख्यका आधारमा विशेष चर्चा गरिएको छ । अन्तस्था–संज्ञाको आधुनिक भाषाशास्त्रीहरूले र सोमनाथ सिग्देल जस्ता पण्डितहरूले गरेका निर्वचनको निराकरण गरी युक्तियुक्त निर्वचन देखाइएको छ । स्पर्श र ऊष्म वर्णका बिचमा रहेकाले य–र–ल–व–लाई अन्तस्था भनिएको हो भन्ने अरूको भनाइको खण्डन गरेर उच्चारणगत विशेषताका आधारमा नै अन्तस्था भनिएको कुरा यहाँ स्पष्ट पारिएको छ । दन्त्योष्ठ्य वकारका विषयमा सुनीतिकुमार चटर्जीसमेतका आधुनिक भाषाशास्त्रीहरूले फैलाएका भ्रमको पनि सप्रमाण निराकरण गरिएको छ । साथै श–ष–स–का बिचको उच्चारणगत भिन्नता पनि स्पष्ट पारिएको छ । लौकिक र वेदशाखाविशेषको अनुस्वारको उच्चारणमा रहेका विशेषताहरूको पनि विस्तृत विवेचना गरी वैदिक अनुस्वारको “गूँ” उच्चारण अशुद्ध हो भन्ने कुरा सप्रमाण देखाइएको छ ।

वैदिक सन्धिका विषयमा पाणिनिका सूत्रका कतिपय स्थलमा रहेका अस्पष्टता र कात्यायन तथा पतञ्जलिका व्याख्यानमा रहेका न्यूनताहरूको निर्देश गरी तिनको विवेचना र स्पष्टीकरण गरिएको छ । यस विषयको उदाहरणसहित विवेचना छुट्टै गरिनेछ ।

स्वरदेखि पर रहेका संयोगको आदिमा रहेको व्यञ्जनको द्वित्वप्रवृतिको जीवन्तताको प्रतिपादन र अक्षरविभाजनको सिद्धान्तको (सिल्याबिफिकेशन‌्‌को) निरूपण गरी सम्पूर्ण ग्रन्थको तदनुरूप मुद्रण गरिएको छ । जस्तै— कौण्डिन्न्यायनशिक्‌क्‌षा । यस्तै शैलीमा ८९६ पृष्ठको सम्पूर्ण ग्रन्थ मुद्रित छ ।

यस ग्रन्थका अन्त्यमा वैदिक शिक्षाशास्त्रको महत्ता देखाई त्यसको पाश्चात्य फनेटिक्स्मा परेको प्रभावको पनि उल्लेख गरिएको छ ।

अमुद्रित शिक्षाग्रन्थमध्ये शम्भुशिक्षा, आत्रेयशिक्षा, आरण्यशिक्षा, कालनिर्णयशिक्षा आदि कृष्णयजुर्वेदीय शिक्षाग्रन्थहरूबाट पनि यस ग्रन्थमा वचनहरू उद्धृत छन् । दुर्लभ शिक्षाग्रन्थमध्ये आपिशलीयशिक्षा, शौनकशिक्षा, शैशिरीयशिक्षा, व्याडिशिक्षा विकृतिवल्ली), कौहलीयशिक्षा, चारायणीयशिक्षा, सर्वसम्मतशिक्षा र पारिशिक्षा परिशिष्टका रूपमा यसै ग्रन्थमा छापिएका छन् । तीमध्ये पछिल्ला तीन ग्रन्थ सर्वप्रथम कौण्डिन्न्यायनशिक्क्षामा छापिएका हुन् ।

यसप्रकार कौण्डिन्न्यायन शिक्क्षामा तैत्तिरीयारण्यकमा गनिएका वेदाङ्ग शिक्षाशास्त्रका सम्पूर्ण विषयहरूको पहिलो पटक साङ्गोेपाङ्ग, विस्तृत र क्रमबद्ध निरूपण गरिएको हुनाले र पाणिनिका पालादेखि अहिलेसम्म चल्दै आएको संस्कृत शिक्षाशास्त्रको चिन्तनमा नयाँ चिन्तन, स्पष्टीकरण र संशोधनसमेत गरिएको हुनाले यस ग्रन्थलाई वेदाङ्ग शिक्षाशास्त्रको नवीन आकरग्रन्थका रूपमा र वैदिक वाङ्मयको इतिहासमा अभूतपूर्व उपलब्धिका रूपमा पनि स्वीकार्न सकिने देखिन्छ । लगभग दस वर्ष लगाएर स्वतन्त्र रूपमा नै रचना गरिएको भए तापनि यो ग्रन्थ वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयद्वारा वाचस्पति अर्थात् महाविद्यावारिधि (डि.लिट्.) उपाधिका निम्ति सन् १९९२ मा स्वीकृत पनि भएको छ ।

माघ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्