नेपाल टी–२० लिगले कति सुध्रियो नेपालको ब्याटिङ?

फाइल तस्बिर।

काठमाडौँ – आगामी फेब्रुअरी दोस्रो साताबाट विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तय भइसकेको छ। घरेलु मैदानमा हुने उक्त सिरिजअघि नेपाली खेलाडीले खेलेको प्रतिष्ठित प्रतियोगिता भनेको नेपाल टी–२० लिग हो।

लिगमा मैदान बाहिरका गतिविधिले मैदानभित्रको प्रदर्शन छायामा पार्‍यो। अझै पनि ‘स्पट फिक्सिङ’का विषयमा अनुसन्धानहरु भइरहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को छानबिन टोलीले प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको संकेत गरेको छ। यद्यपि, कुनै पनि छानबिन समितिले आधिकारिक रुपमा आफ्नो धारणा बाहिर ल्याएका छैनन्।

मैदान बाहिरका गतिविधिलाई छोडेर मैदानभित्रको प्रदर्शनमा नेपाली खेलाडी कति अब्ल रहे? के नेपालको ब्याटिङ सुध्रियो?

उम्दा मानिएका खेलाडीकै कमजोर ब्याटिङ


तर आँकडाले नेपाली ब्याटिङ कमजोर बनेको स्पष्ट पार्छ। प्रतियोगितामा उच्च स्कोर बनाउने शीर्ष तीनमा नेपाली खेलाडी अटाएका छैनन्। चौथो नम्बरमा रोहित पौडेल परेका छन्। उनले १३ खेलबाट ३ सय ४८ रन बनाउँदा प्रतियोगिताभरीमा ४ अर्धशतक प्रहार गरे। उक्त प्रतियोगितामा कुनै पनि खेलाडीले शतक प्रहार गर्न सकेनन्।

रोहितले इनिङमा सर्वाधिक उच्च स्कोरका रुपमा पोखरा एभेन्जर्सविरुद्ध ७१ रन बनाउनु रह्ययो। तर रोहितबाहेक राष्ट्रिय टिममा भएका अन्य ब्याटरको अवस्था झनै दयनीय देखियो।

राष्ट्रिय टिमबाट खेलिरहेका कुनै पनि ब्याटरले उत्साहजनक प्रदर्शन गर्न सकेनन्। राष्ट्रिय टिममा सर्वाधिक आस गरिएका दीपेन्द्र सिंह ऐरी प्रतियोगितामा सर्वाधिक रन बनाउने मामिलामा १५ औं नम्बरमा रहे। लुम्बिनी अल स्टारबाट खेलेका उनले केवल २०१ रन मात्र बनाए। पूर्व कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिता अवधिभर व्यक्तिगत रुपमा समग्रमा एक सय रन पनि कटाएनन्। नियमित टिममा रहने कुशल मल्लको पनि प्रदर्शन औषतभन्दा कमजोर रह्यो। समग्रमा नेपाली ब्याटरहरुको प्रदर्शन प्रतियोगिता अवधिभर चरम निरासाजनक रह्यो।

उदयीमान पनि देखिएनन्


टी–२० को छोटो फर्म्याटमा आफूलाई प्रमाणित गर्न सक्ने अवसर नयाँ खेलाडीका लागि लिने गरिन्छ। तर नेपाल टी–२० मा कुनै पनि खेलाडीले आफूलाई उदयीमान खेलाडीका रुपमा स्थापित गर्न सकेनन्।

राष्ट्रिय टिमबाट सीमित अवसरबीच खेलेका २१ वर्षीय सन्दीप जोराले रोहितपछि सर्वाधिक रन बनाएका थिए। उनले ११ खेलबाट २ सय ५८ रन बनाए। जनकपुरबाट खेलेका जोराले दुई अर्धशतक प्रहार गरेका थिए। प्रतियोगितामा उदयीमान खेलाडीका रुपमा घोषित भएका सूर्य तामाङ ब्याटिङ होइन बलिङमा समेत औषत मात्र रहे। उनले ८ खेलको ७ इनिङबाट १२ विकेट लिएका थिए।

फेरि बलिङकै भर


नेपाल टी–२० ले पनि स्पष्ट रुपमा नेपाली खेलाडीहरु ब्याटिङमा कमजोर र बलिङमा तुलनात्मक रुपमा अब्बल रहेको स्पष्ट सन्देश दियो। बलिङमा सर्वाधिक विकेट लिने शीर्ष स्थानमा काठमाडौँ किंग्सबाट खेलेका अभिनाश बोहोरा रहे। उनले कुल ११ इनिङ खेल्दै १९ विकेट लिए।

प्रतियोगितामा सर्वाधिक विकेट लिने शीर्ष ५ खेलाडीमा ४ खेलाडी नेपाली नै रहेका छन्। वेस्ट इन्डिजका राज रोक्की ननान, ललित राजवंशी र नन्दन यादवले समान १६ विकेट लिएका थिए। पाँचौँ नम्बरमा रहेका करण केसीले १४ विकेट लिए।

त्यसैले, नेपाली राष्ट्रिय टिमका लागि घरेलु एकदिवसीय सिरिज निकै जटिल अवस्थामा रहेको छ। यस्तोमा ब्याटिङमा देखिएको निरासाले नेपाली एकदिवसीय वरियता जोगिने सम्भावना थप कमजोर र निरास बनाएको छ।

माघ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्