झन् झन् घट्यो दक्षिण एशियामा कोरोना संक्रमण

सन् २०१९ को अन्त्यतिरबाट कोरोना प्यान्डेमिक सुरु भए पश्चात हालसम्म डब्लुएचओका अनुसार साढे ६६ करोड जतिलाई यो संक्रमण लागिसकेको छ भने पौने सत्तरी लाख जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

संक्रमण सबैभन्दा धेरै भएका देशमा अमेरिकामा विश्वको कुल संक्रमणमध्ये १५.५%, भारतमा ६.५%, फ्रान्समा  ६%, जर्मनीमा  ६% र ब्राजिल ५.५% संक्रमण भेटिएको छ। त्यस्तै विश्वको कुल कोरोना संक्रमणमध्ये युरोपमा ३६%, एसियामा ३२%, उत्तर अमेरिकामा १८%, दक्षिण अमेरिका मा १०%, अफ्रीकामा २% र अस्ट्रेलिया महादेशमा २% संक्रमण देखिएको छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो छ।दक्षिण एसियाको पछिल्लो ५ हप्ता,२०२२ डिसेम्बर १३ देखि २०२३ जनवरी १८(३७ दिन)को कोरोना प्यान्डेमिकसम्बन्धि तथ्यांकको विश्लेषण चित्र नं. १ मा देखाइएको छ।

पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्रकोरोना संक्रमण निकै न्यून छ र औसतमा दैनिक २२ भन्दा कम संक्रमण देखिने गरेको छ। तर चित्र न. १ मा देखाइए जस्तै पछिल्लो करिब ५ हप्ताको दैनिक कोरोना संक्रमणको प्रबृत्ति हेर्ने हो भनेदक्षिण एसियाको कुल दैनिक संक्रमण घट्दै गएको प्रबृत्ति को देखिन्छ।

त्यस्तै दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु निकै कम देखिन्छ, औसत दैनिक करिब ३ भन्दा कम।

नेपालको दैनिक नया संक्रमण

सन् २०२३ जनवरी १५ देखि २१ (बि.सं २०७९ माघ १ देखि ७)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न.२ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परिक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, माघ ७गते शनिबारसम्म,देशभरि जम्मा २४ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १००१०७५ पुगेको छ। दुई र तीन हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या क्रमशः ३१ र २० थियो।

त्यस्तै चित्र नं.२ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम०.०% देखि अधिकतम २.५६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर०.९१% रह्यो जुन दुई र तीन हप्ताअघि क्रमश ०.७७% र ०.७२% थियो।

गत हप्ता नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०२० पुगेको छ।

गत हप्ता देशभरि जम्मा ३३२३ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि २६१४ थियो।

संक्षेपमा,पछिल्लो समय विश्वमा कोरोना संक्रमण समग्रमा कम हुँदै गएको छ भने कतिपय देशमा यसको आतंक अझै पनि जारी नै रहेको देखिन्छ।

दक्षिण एसियाको समग्र  दैनिक कोरोना संक्रमणमा भने निकै कमी आएको देखिन्छ र ५ हप्ताको संक्रमण प्रबृत्ति अझै घट्दो देखिन्छ। हालसम्म दक्षिण एसियामा कोरोनाको नयाँ भ्यारिएन्टको कारण संक्रमणमा फेरि वृद्धि भएको या प्यान्डेमिकको नयाँ लहर आउन लागेको लक्षण तथ्यांकले देखाएको छैन।

नेपालमा गत हप्ता,बि.सं २०७९ माघ १ देखि ७, साप्ताहिक नयाँ कोरोना संक्रमण  केही साताको जस्तै निकै कम देखाएको छ र पछिल्लो समय संक्रमण प्रबृत्ति स्थिर नै देखिन्छ। कोरोना मृत्यु पनि शून्यप्रायः छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मुलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशहरुमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्दछ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ।हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुरा कडाइसाथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो।जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

माघ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्