१३ दिनअघि अपहरित दुई युवक छाड्न मागिएको थियो १० लाख रुपैयाँ फिरौती

शोकाकुल अवस्थामा रोहितका हजुरबुवा र परिवारका सदस्य।

जनकपुरधाम – आइतबार जनकपुरधामका दुई युवक भारतको सितामढी जिल्लामा मृत अवस्थामा फेला परे। उनीहरु पछिल्लो १३ दिनदेखि बेपता थिए।

करिब दुई साताअघि जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं. १३ का २२ वर्षीय विष्णु साह न्वारणको भोज खानका लागि मामाघर भारतका लागि निस्केका थिए। जनकपुरधामबाट भोज खान निस्केको दुई दिनपछि रोहितका बुवा जगदिश साहको फोनमा अपहरणकारीको फोन आएको थियो।

रोहितका फुफाजु देवनारायण साहका अनुसार अपहरणकारीले फोन गरेर हिन्दीमा बोल्दै ५० लाख रुपैयाँको डिमान्ड गरेका थिए। ‘५० लाख रुपैयाँ डिमान्ड गरेपछि त्यति हुँदैन, २० लाखसम्म दिनसक्छु भनेर रोहितको बुवाले भन्नुभएको थियो। रकमको व्यवस्था गरेपछि अपहरणकारीले सर्लाहीको मलंगवा बोर्डरमा बोलाएका थिए’, देवनारायणले भने, ‘रोहितको बुवाले छोरासँग फोनमा कुरा गराइदिनुस् भनेपछि कुरा गराएन। पुरानै रेकर्ड सुनाए।’

रोहितको घरअगाडि स्थानीय।

फोनमा अपहरणकारीले मागेको रकम नदिए रोहितको हत्या गरिदिने बताएको देवनारायण बताउँछन्। उनका अनुसार गत मंगलबारदेखि भने अपहरणकारीसँग सम्पर्क नै भएको थिएन। प्रहरीले समेत रोहित सुरक्षित रहेको र नआत्तिन आश्वासन दिएका थिए।

उनले भने, ‘प्रहरीले समेत रोहित सुरक्षित रहेको आश्वासन दिएका थिए तर आज फोर गरेर दुई वटा शव फेला परेको र त्यसलाई यकीन गर्न बोलायो।’

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीले दुई जना र भारतीय प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा महोत्तरीको मनरा सिसवा नगरपालिका– २ इटहर्वा बस्ने २४ वर्षीय किसन कुमार पण्डित र मुकेश पासवान रहेको प्रहरीले जनाएको छ।

प्रवक्ता क्षेत्रीका अनुसार गत पुस २७ गते रोहित र विष्णु ज १२ प ८०४ नम्बरको मोटरसाइकलमा घरबाट निस्केको थिए। सोही दिनदेखि उनीहरुको मोबाइल अफ भएको थियो। दुई दिनपछि विष्णुकै फोनबाट विष्णुको बुवाको मोबाइलमा फोन आएको थियो। अपहरणकारीले विष्णुलाई छाड्न १० लाख रुपैयाँ लिएर आउन भनेका थिए।

अपहरणकारीको फोन आएकै दिन पीडितले प्रहरीमा मौखिक जानकारी गराएपछि जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलास गरेको थियो। अनुसन्धान गर्दै जाँदा आइतबार बिहान करिब साढे दुई बजे भारतको बिहार राज्यको सितामढी जिल्ला पर्सा ग्राम थाना बेलामा दुई वटा शव गाडिएको अवस्थामा फेला परेको प्रवक्ता क्षेत्रीले बताए।

माघ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्