किन छलफल बाक्लो बनाउँदै छ कांग्रेसको संस्थापन इतर पक्षले?

काठमाडौँ–नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक नजिकिदै गर्दा संस्थापन इतर समूहले छलफल बाक्लो बनाएको छ।

कांग्रेसले यही माघ १५ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सोही बैठकमा प्रस्तुत हुने रणनीति र अन्य समसामयिक राजनीतिबारे इतर समूह छलफलमा जुटेको हो।

आइतबार बसेको इतर समूहको बैठकले केही महत्वपूर्ण बिषयहरु उठान गरेको छ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा विश्वासको मत दिएकोमा नेता शेखर कोइरालाले पश्चाताप गरेका छन्।

पार्टीका उपसभापतिसमेत रहेका इतर समूहका नेता धनराज गुरुङले आगामी १५ औँ महाधिबेशनमा पार्टीको सभापति शेखर कोइराला हुन् भनेर घोषणा गर्न प्रस्ताव राखेका छन्।

आइतबारको छलफलमा इतर समूह आफ्ना माग र भूमिकामा स्पष्ट भएर जानुपर्नेमा नेता गुरुङले जोड दिएका बैठकमा सहभागी नेता भूपेन्द्रजंग शाहीले देश सञ्चारलाई जानकारी दिए।

नेता शाहीका अनुसार इतर समूहको अडानको औचित्य, आगामी रणनीतिबारे मिहिन ढंगले छलफल गर्नुपर्ने बैठकमा प्रस्ताव भएको छ।

बैठकमा नेता कोइराला,उपसभापति गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, ह्रदयराम थानी, गुरु घिमिरेलगायत उपस्थित थिए। आज नेता कोइराला,उपसभापति गुरुङ लगायतले धारणा राखेका थिए। आज झण्डै तीन घन्टा छलफल चलेको थियो। बाँकी छलफल मंगलबार बिहानका लागि तय गरिएको छ।

नेता चन्द्र भण्डारीले पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको बताए। कांग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो कि प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। बैठकमा सहभागी केही नेताहरुले संस्थापन इतर समूहको साझा नेता को हो भन्नेमा अलमल देखिँदा पार्टीभित्रको संघर्षमा सोचेजस्तो दमदार प्रस्तुति हुन नसकिरहेको टिप्पणी गरेका छन्।

संसदीय दलको नेताको उम्मेदवार चयन, संसदीय दलको नेतालाई प्राप्त मत, पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत प्रदान, स्थानीय तहको निर्वाचन र आम निर्वाचनमा टिकट वितरण लगायतमा आफ्नै समूह एकढिक्का हुन नसकेकोबारे पनि बैठकमा नेताहरुले असन्तुष्टि र गुनासो राखेका थिए।

बैठकमा नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई समान धारणा बनाउन नेताहरुले सुझाव दिएका छन्।

आफ्नो समूहबाट संसदीय दलको उम्मेदवार छिटो गरी तय गर्न नसकेकामा शीर्ष तहका नेताहरुलाई प्रश्न उठाइएका थिए। संसदीय दलमा आफ्नै समूहको सबै मत नआउनुको कारण पहिल्याउनुपर्ने मत नेताहरुले राखे। नेता ह्रदयराम थानीले टिममा विश्वास नभएको कारण संसदीय दलको चुनावमा सोचेजति मत नआएको तर्क गरेका थिए। आगामी माघ १५ गतेको लागि तय भएको केन्द्रीय समितिको बैठक पनि सर्ने संभावना छ।

पार्टीभित्रको पछिल्लो राजनीतिक हैसियतले चरम असन्तुष्टि बढेका कारण फेरि बैठक सर्ने संभावना बढेर गएको हो।

पार्टी सभापति शेर बहादुर देउवा सहित अन्य पदाधिकारीमाथि मात्रै तिखा प्रश्नहरु बर्सीने डरले अन्य पदाधिरकारीपनि बैठक सार्ने पक्षमा रहेको एक नेता बताउँछन्।
उनले भने,‘पार्टीमा निर्मम तरिकाले छलफल गरेर सच्चिएर अगाडी बढौँ भन्ने सोच नभएसम्म पार्टीको हैसीयत थप कमजोर हुनेवाला छ।’

 

माघ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्