कैलालीका तीन पालिकामा दादुरा, खोप लगाउने तयारी

धनगढी – कैलालीका तीन वटा पालिकामा दादुरा देखिएको छ। धनगढी उप महानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उप महानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ।

‘तीन जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने ‘अन्य केही बालबालिकामा पनि दादुरा भएको आशंका गरिएको छ, उनिहरुको नमूना परिक्षण भइरहको छ।’
धामीका अनुसार धनगढी उप महानगरपालिका–१, गोदावरी नगरपालिका–३ भैसीहारका पाँच वर्ष १० महिनाका एक बालक र गौरीगङ्गा नगरपालिका–६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको हो।

उनका अनुसार दुवै बालकले दादुरा विरुद्धको पुर्ण खोप लगाएका थिए। गौरीगंगाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो। यस्तै, गरेर धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका दुई बालकमा पनि दादुराको लक्षण देखिएपछि उपचार भइरहेको छ। उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताए।

उनका अनुसार धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएर र अर्का खोप नलगाएका पाँच वर्षीय बालक भारत गएर फर्किएपछि दादुरा देखिएको हो। उनीहरूका अभिभावकहरू बच्चा सहित रोजगारीका लागि भारत आउने जाने गर्नाले खोप छुटेको हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ।

बालबालिकाले जन्मेदेखि १५ महिना भित्रमा १३ वटा खोप लगाउनुपर्छ। केही गरेर ती खोप छुटेमा पाँच वर्ष भित्र लगाउनुपर्छ।

खोप अभियान सञ्चालन गर्न निर्देशन

कैलालीका तीन पालिकामा दादुरा भएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
परिवार कल्याण महाशाखा बाल स्वास्थ्य महाशाखाले तीन वटै पालिकामा खोप अभियान सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। ‘परिवार कल्याण महाशाखा बाल स्वास्थ्य महाशाखाले सवै पालिकामा बालबालिकाको तथ्याङ्क संकलन गर्न निर्देशन दिएको छ,’ धामीले भने, ‘त्यसै अनुसार छिट्टै तथ्याङ्क संकलनमा लाग्ने छौं।’

उनका अनुसार ६ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई दादुरु विरुद्धको खोप लगाउन आवश्यक तयारी थालिने बताए। आइतबार परिवार कल्याण महाशाखा बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारी सहितको टोली कैलालीमा पुगेको थियो। सो टोलीले दादुरा प्रकोप देखिएका पालिकाकाबारे अध्ययन समेत गरेको छ।

उनले तीन वटा पालिकामा दादुरा प्रकोप देखिएको भन्दै अन्य पालिकामा पनि आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको बताए।

 

माघ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्