म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिका- २ काफलगौरमा साेमबार दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरी निरीक्षक राजन ढकालले मङ्गला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए। उनका अनुसार घाइते मङ्गला-२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ।
मङ्गला-१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला-२ की २२ वर्षीया विपना कार्की, मङ्गला-१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला-२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ।
ओरालो सडकमा जीप पल्टिएर दुर्घटना भएको थियो।
जीप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए।