‘नेपालमा कफी उत्पादन ५० प्रतिशतले घट्यो’

काठमाडौँ – नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय कफी उत्पादनमा ५० प्रतिशतले कमी आएको बताएका छन्।
सोमबार काठमाडौँमा नेपालको कफी उत्पादनसम्बन्धी गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका हुन्।
उनले पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढे पनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको बताए। उनले नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भए पनि अन्य देशको तुलनामा अत्यन्तै कम भएको बताए।
उनले नेपालमा अब व्यापार तथा निर्यातभन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। उनले नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने उल्लेख गरे।
उनले भने,‘पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेको छ। तर कफी खेती बढे पनि उत्पादन भने ५० प्रतिशतले घटेको छ। नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर रहेको छ। अरु देशको तुलनामा नेपालको कफी उत्पादन कम हो। नेपालमा अब व्यापार तथा निर्यातभन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्छ।’
उनले नेपालमा कफी खेती धेरै भए पनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै जानु रहेको बताए।