बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा आउँछः स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्चले आज गरेको भेटघाट कार्यक्रममा उनले दादुराको प्रकोप नियन्त्रण आउने प्रयासमा रहेको भन्दै एक महिनाभित्र दादुराको प्रकोप नियन्त्रणमा आउने बताए।
‘बाँकेमा फैलिएको दादुराको अवस्थाबारे मैले हिजोमात्र बुझेर आएको छु, दादुराविरुद्धको खोप कार्यक्रम त्यहाँ अहिले प्रभावकारी रूपमा अगाडि बढेको छ,’ उनले भने, ‘दादुरा नियन्त्रणमा आउने स्थिति रहेको छ। एक महिनामा नियन्त्रणमा आउने छ भन्ने हामीलाई विश्वास छ।’
उनले स्थानीय जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकालाई कुनै पनि घर नछुटाइकन बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन निर्देशन दिएको बताए।
मन्त्री गिरीले बाँके हुँदै अन्य ठाउँमा पनि दादुराको प्रकोप फैलिन थालेपछि चिन्ताको विषय भएको बताए।