तानसेन-तम्घास सडक दैनिक १२ घण्टा बन्द

फाइल तस्बिर।

बुटवल-पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जोड्ने सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने भएको छ।

तानसेनको बर्तुङ-तम्घास सडकअन्तर्गत मालमुल-जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार यो सडकखण्ड बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ।

यस्तै, दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए।

एक महिनामा सडक चौडा तथा मर्मत गर्ने काम पूरा हुने निरौलाले जानकारी दिए।

यो सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्ने उनको भनाइ छ।

माघ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्