नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल होइन, प्रमुख प्रतिपक्षी दल सभामुखले तोक्नुपर्छः अग्नि खरेल

झापा – पूर्व कानुनमन्त्री तथा अधिवक्ता अग्निप्रसाद खरेलले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नभएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल मान्नै नसकिने नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पार्टीका झापा जिल्ला इन्चार्जसमेत रहेका खरेलले बताए।

संसदमा सबैभन्दा ठूलो दलले नै प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि अहिले अवस्थामा संवैधानिक व्यवस्थाअनुसार कुनै पनि दलको १० प्रतिशत संख्या नपुग्ने भएकाले प्रमुख प्रतिपक्षी दलको मान्यता सभामुखले तोके बमोजिम हुने खरेलको भनाइ छ।

मंगलबार झापाको बिर्तामोडमा पत्रकारहरूसँग कुरा गर्दै खरेलले नेपाली कांग्रेसले २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकारलाई दिएको विश्वासको मतको विषय उठान गरे पनि अहिलेको परिस्थिति फरक रहेको र कानुनी व्यवस्था पनि फरक रहेको बताए।

उनले भने,  ‘त्यो बेला मनमोहन अधिकारी नेतृत्वको सरकारलाई विश्वासको मत नदिइ संसद नरहने परिस्थिति थियो भने दलहरू तत्काल चुनावमा जाने स्थितिमा थिएनन्।’

त्यो बेला कानुनी संरचनाको निरन्तरता अहिले नभएको उनले जिकिर गरे।

संघीय संसदका पदाधिकारी सदस्यहरूको पारिश्रमिक, सेवा, सर्त र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २ ले गरेको व्यवस्था अहिलेको रहेको खरेलले बताए।

उनले भने, ‘उक्त ऐनको दफा २ ले स्पष्ट रुपमा प्रमुख प्रतिपक्षी दलको परिभाषा गरेको छ जुनकुरा २०५१ सालमा थिएन।’

नेपाली कांग्रेसले संसद सचिवालयमा दिएको निवेदनको कुनै अर्थ पनि नरहेको उनको भनाइ छ।

खरेलले भने, ‘यदि प्रमुख प्रतिपक्षी दल हुँ भन्ने लाग्छ नेपाली कांग्रेसलाई भने निवेदन नै किन दिनुपर्‍याे? कानुनी हिसाबमा पाइहालिन्छ नि ।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले सभामुख, उपसभामुख, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ‘बार्गेनिङ’ गर्न खोजेकोसमेत उनले आरोप लगाए।

सभामुख तथा उपसभामुखमा नेपाली कांग्रेसका उम्मेदवार पराजित भइसकेका छन् भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुन बाँकी छ।

माघ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्