स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा पर्सामा रोकियो कित्ताकाँट

मालपोत कार्यालय पर्सा।

वीरगञ्ज – पर्साका स्थानीय तहको लापरवाहीका कारण जिल्लामा लामो समयदेखि जग्गा कित्ताकाँट खुल्न सकेको छैन। स्थानीय तहले समयमै जग्गाको वर्गीकरण गरेर नपठाइदिँदा कित्ताकाँट खुल्न नसकेको हो।

सरकारले देशभरिका पालिकालाई कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरेर सिफारिस गर्न मङ्सिर २३ गतेसम्मको समयसीमा तोकेको थियो। जग्गाको वर्गीकरण नगरेका पालिकाको कित्ताकाँट गत जेठ २७ गतेदेखि नै रोकिएको थियो। लामो समय भइसक्दासमेत पर्साका १० स्थानीय तहले अझैसम्म जग्गाको वर्गीकरण गर्न नसक्दा ती स्थानीय तहमा कित्ताकाँट रोकिएको छ।

सोमबारदेखि भने सदरमुकाम वीरगञ्ज महानगरसहित चार वटा पालिकाका लागि जग्गाको कित्ताकाट खुला भएको छ। वीरगञ्ज महानगरसहित सखुवाप्रसौनी, पकाहमैनपुर र पटेर्वासुगौली गाउँपालिकाका लागि जग्गाको कित्ताकाट खुला भएको हो।

हालसम्म पर्साका चार वटा स्थानीय तहले मात्रै जग्गाको वर्गीकरण गरी पठाएपछि ती स्थानीय तहको जग्गाको कित्ताकाँट गर्न खुला गरिएको जिल्ला मालपोत कार्यालय पर्साले जनाएको छ। बाँकी १० वटा पालिकाले अझै पनि जग्गाको वर्गीकरण गरेर पठाएका छैनन्।

स्थानीय तहहरुले भू–उपयोग नीति लागू गर्नका लागि जग्गा वर्गीकरण गरेर पठाउन ढिलो हुँदा सात महिनादेखि जग्गाको कित्ताकाँट रोकिएको थियो। पर्सामा रहेका तीन नगरपालिका र सात वटा गाउँपालिकाको कित्ताकाँट अझै खुल्न नसकेको हो।

कित्ताकाँट नखुल्नुमा स्थानीय तहको लापरवाही रहेको मलापोत कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठले बताए। उनले पर्साका स्थानीय तहहरुले समयमै जग्गा वर्गीकरण नगरिदिँदा कित्ताकाँट पनि नखोलिएको जानकारी दिए।

‘स्थानीय तहहरुलाई जति भन्दा पनि वर्गीकरण गरेर पठाउन मानेका छैनन्। कित्ताकाँट नखुल्नुमा स्थानीय तह नै जिम्मेवार हो,’ उनले भने, ‘वैशाख ३० को निर्वाचनपछि पालिकामा नयाँ जनप्रतिनिधिहरु आएपछि उनीहरुले झनै वर्गीकरण गर्नेतर्फ ध्यान दिएका छैनन्।’

स्थानीय तहकै कारण राज्यलाई कित्ताकाँटबाट उठ्ने राजश्वसमेत गुमेको श्रेष्ठको भनाइ छ। लामो समयदेखि जग्गाको कित्ताकाँट रोकिएको हुँदा सर्वसाधारणलाई मर्का परेको छ। जग्गाको कित्ताकाँट नखोलिँदा बैंकको ऋण तिर्न समस्या हुनेदेखि जग्गालाई बाध्यताबस कम मूल्यमै बिक्री गर्नुपर्ने अवस्था आएको पर्सा बहुदरमाई नगरपालिकाका दिपेन्द्र पटेलले बताए।

उनले बैंकको ब्याज तिर्नको लागि जग्गा बिक्री गर्नुपर्ने बाध्यताले घाटामा गएर आफै रोडमा आएको दाबी गरे। ‘कित्ताकाँट नखुल्दा जग्गा कम मूल्यमा बिक्री गरेर बैंकको ब्याज तिर्नु परेको छ। अब अरु के भन्ने! रोडमा आएका छौँ। मेरै हालत यस्तो छ, अरुको म के कुरा गरु?,’ उनले भने।

अबको केहीदिनमै नगरपालिकाभित्रका जग्गाको वर्गीकरण सिध्याएर कित्ताकाँट खोल्ने तयारी गरिरहेको पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले जानकारी दिए।

‘हामीले पालिकामा रहेका कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरिसकेका छौँ। अबको एक दुई दिनमै कार्यालयमा पठाइदिन्छौ,’ उनले भने।

कित्ताकाँट खोल्नको लागि जग्गाको वर्गीकरणको लागि वडामै कर्मचारीहरु पठाएर त्यसको लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा रहेको पोखरिया नगरपालिकाका मेयर प्रद्य‌ुम्न चौहानको भनाइ छ।

माघ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्