चर्को विरोधको डरले कांग्रेस केन्द्रीय समिति बैठक फेरि सार्ने तयारी

फाइल फोटो।

काठमाडौँ– नेतृत्वले पार्टीभित्रको दबाब थेग्न नसक्ने भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सर्ने भएको छ। केन्द्रीय समितिको मिति पटक–पटक तय गर्दै सार्दै आएको कांग्रेसले पछिल्लो पटक आगामी माघ १५ गतेलाई बैठक आह्वान गरेको थियो।

तर माघ १५ गतेको मिति पनि सर्ने निश्चितजस्तै भएको कांग्रेस नेताहरु बताउँछन्। यसअघि पुस २८ गते बस्ने भनिएको बैठक माघ १५ को लागि सारिएको हो। त्योभन्दा अघि पुस २२ को लागि बैठक डाकिएको थियो।

सत्ताबाट बाहिरिएपछि पार्टीभित्रै आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीति र निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक डाकेका हुन्। तर, पछिल्लो समयमा विकसित भइरहेको राजनीतिक घटनाक्रमले कांग्रेस बैठक प्रभावित हुँदै आएको छ।

जनताले दिएको म्यान्डेटविपरीत कांग्रेस सत्ता बाहिर भएपछि कांग्रेस नेता कार्यकर्ता नेतृत्वप्रति रुष्ट बनेका छन्। आम निर्वाचनले कांग्रेसको राजनीतिक हैसियत गिर्दो क्रममा देखिएको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ।

स्थानीय तहको निर्वाचन र आम निर्वाचनमा सँगै होमिएका गठबन्धनका दलहरु आम निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवाको हठका कारण सँगै हुन सकेनन्। विशेषतः माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरकार, सदन र राष्ट्र प्रमुखको भागबन्डामा कुरा नमिलेको हो।

देउवासँग असहमति भएपछि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सत्ता समीकरण निर्माण गरेपछि कांग्रेसभित्रको असन्तुष्टिले चरम रुप लिएको छ। यही असन्तुष्टि पार्टी बैठकमा थेगिनसक्नु हुने देखिएकोले केन्द्रीय समितिको बैठक सर्दै आएको हो।

केन्द्रीय समितिको बैठक सार्दै पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी छलफल भने गर्दै आएका छन्। यस्तै, संस्थापनइतर समूहले पनि गुट छलफललाई बाक्लो बनाएको छ।

संस्थापनइतर समूहले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएकोप्रति पनि असन्तुष्टि पोख्दै आएको छ। केन्द्रीय समिति बैठकमा नेतृत्वले यसबारे पनि चर्को विरोधको सामना गर्नुपर्ने छ। पार्टी सभापति मात्रै नभई पार्टी पदाधिकारीहरु नै पार्टीको हैसियतको भागिदार भएकोले नेतृत्वमा नै प्रश्न उठ्ने डरले बैठक सार्न खोजेको बुझिएको छ।

नेता शेखर कोइराला निकट एक केन्द्रीय सदस्यका अनुसार पार्टी सभापति मात्रै नभई पार्टीका प्रायः पदाधिकारीहरु नै बैठक धकेल्नतर्फ उद्धत भएका छन्। नेतृत्वले राष्ट्रपतितर्फ नजर लगाएको भन्दै कांग्रेसका एकाथरी नेता कार्यकर्ताहरुको असन्तुष्टि छ।

कांग्रेस नेतृत्वले पनि राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाइनुपर्ने माग राखेको छ। संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत प्राप्त गरेको कांग्रेस सरकारसँग मिल्न जान नहुने पार्टीका दोस्रो तहका नेताहरुको सुझाव छ, जसलाई नेतृत्वले सुन्न तयार छैन।

पार्टी सभापति देउवा निकट एक नेताका अनुसार सभापति देउवा केन्द्रीय समितिको बैठकलाई भन्दा पनि राष्ट्रपतिबारेको निर्णयमा धेरै गम्भीर देखिएका छन्।

माघ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्