गण्डकीका तीन मन्त्रीले लिए शपथ

पोखरा – गण्डकी प्रदेश नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

एमालेका रोशनबहादुर गाहा मगर र वेदबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री नियुक्त गरेका थिए।

गाहालाई आन्तरिक मामिला तथा कानुन, गुरुङलाई कृषि, उर्जा तथा जलस्रोत र जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालको जिम्मा दिइएको छ। यसअगाडि गाहालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो। तर, शपथ ग्रहण गर्न जाँदै गर्दा उनले पाउने मन्त्रालय हेरफेर भयो।

अर्थ मन्त्रालयको जिम्मेवारी सीता सुन्दासलाई दिइएको छ। यसअघि नै मन्त्री बनेका माओवादीका हरिबहादुर चुमानले भौतिका पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र राप्रपाका पञ्चराम तमुले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका हुन्।

सुन्दास, चुमान र तमुलाई मुख्यमन्त्री अधिकारीले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन पुस २५ मा मन्त्री नियुक्त भएका थिए। मन्त्री भए पनि उनीहरुलाई जिम्मेवारी दिइएको थिएन।

थप तीन जना मन्त्री मंगलबार नियुक्त भएर शपथ ग्रहण गरेसँगै खगराज नेतृत्वको गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। यसअगाडि १२ मन्त्रालय रहेको यहाँ ५ मन्त्रालय घटाएर ७ मा झारिएको छ।

माघ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्