न्युजिल्यान्डविरुद्धको सिरिज ‘क्लिन स्विप’ गर्दै भारत वरियताको शीर्ष स्थानमा

भारतले न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीयमा ९० रनको जित निकाल्दै सिरिज ३-० ले जितेको छ।

सिरिज क्लिनस्विप गरेसँगै भारत एकदिवसीय वरियताको शीर्ष स्थानमा उक्लिएको छ। भारत टी-२० मा यसअघिनै शीर्ष स्थानमा रहँदा टेस्टमा दोस्रो नम्बरमा रहेको छ।

भारतले तेस्रो पटक न्युजिल्यान्डलाई एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको हो। भारतले १९८८ र २०१० मा न्युजिल्यान्डविरुद्धको सिरिज क्लिन स्विप गरेको थियो। यो सँगै भारतले लगातार ७ एकदिवसीय खेलमा जित हासिल गरेको छ।

इन्दोरमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले राम्रो सुरुवात गरेको थियो। कप्तान रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि २ सय १२ रनको साझेदारी गरेका थिए। शर्माले १०१ रन बनाउँदा गिलले ११२ रन बनाएका थिए।

त्यस्तैऽ हार्दिक पाण्ड्याले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा भारत ३८५ रनको उच्च स्कोर बनाउन सफल भयो। जवाफमा न्युजिल्यान्ड ४१.२ ओभरमा २ सय ९५ रनमा समेटियो। न्युजिल्यान्डका लागि डेभन कनवेले १३८ रनको शतकीय इनिङ खेलेपनि अन्य खेलाडीले भने गतिलो स्कोर बनाउन सकेनन्।

गिलले कुनै एक टिम विरुद्धको एकदिवसीय सिरिजमा सर्वाधिक रन बनाउने बाबर अजामको कीर्तिमान बराबरी गरेका छन्। २०१६ मा अजामले वेस्टइन्डिज विरुद्ध ३६० रन बनाएका थिए। गिलले पनि न्युजिल्यान्ड विरुद्ध ३ सय ६० रननै प्रहार गरे।

अब यी दुई टिमबिच शुक्रबारबाट ३ खेलको टी-२० सिरिज सुरु हुनेछ।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्