खुला भाँडामा पेट्राेल बिक्री नगर्न प्रहरी परिसर काठमाडाैँकाे निर्देशन

फाइल तस्बिर।

काठमाडाैँ – जिल्ला प्रहरी परिसर काठमाडाैँले पेट्राेलीयम पदार्थकाे प्रयाेगबाट घटेका विभिन्न अप्रिय घटनालाई मध्यनजर गर्दै खुला भाँडामा पेट्रोल बिक्री नगर्न पेट्रोल पम्पहरूलाई निर्देशन दिएको छ।

प्रहरी परिसर काठमाडाैँले बुधबार एक सूचना जारी गर्दै पम्पले खुला रूपमा बोतल, जर्किनलगायतका भाँडामा पेट्राेलियम पदार्थ बिक्री गरेकाे पाइएकाे र  जनाउँदै यस्ताे निर्देशन दिएकाे हाे।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए।

आचार्यकाे बुधबार बिहान मृत्यु भएकाे छ। उक्त घटनापछि प्रहरी परिसरले यस्ताे सूचना निकालेकाे हाे।

यसअघि पनि काठमाडाैँमै एक युवतीले आफैमाथि पेट्राेल छर्किएर आत्मदह गरेकी थिइन्।

पेट्राेलियम पदार्थ खुला रूपमा बिक्री गर्दा मानवीय एवम् भौतिक क्षति हुने भएकाले यसरी बिक्री वितरण नगर्न सूचना प्रकाशित गरिएकाे परिसरले जनाएकाे छ।

सुरक्षा संवेदनशीलताकाे सूचना विपरीत पेट्राेलियम पदार्थकाे विक्री वितरण गरेकाे पाइएमा प्रचलित कानुन बमाेजिम कारबाही हुने सूचनामा उल्लेख गरिएकाे छ।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्