प्रेमप्रसादकाे मृत्युप्रति दु:ख व्यक्त गर्दै बालेन भन्छन्- नागरिकप्रतिकाे जिम्मेवारी निभाउन राज्य असफल

फाइल तस्बिर।

काठमाडाैँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि महानगर प्रमुख शाहले सामाजिक सञ्जालमार्फत् नागरिकप्रतिकाे जिम्मेवारीमा राज्य चुकेकाे बताएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै उनको आत्मदाहले सबैभन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’

/>

मंगलबार दिउँसाे आत्मदाहकाे प्रयास गरेका आचार्यकाे कीर्तिपुर अस्पताल उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

आचार्यले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका छन्।

स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्।

जसका कारण आफूमा बाँच्ने आशा मरिसकेको हुँदा आफू आत्मदाह गर्न लागेको बताएका छन्।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्